इटहरी । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भू–भागनजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ ।
महाशाखाका अनुसार अहिले कोशी प्रदेशलगायत बाँकी हिमाली र पहाडी भू–भागमा साधारणतया बादल, मधेश प्रदेशमा आंशिक बादल र बाँकी तराई भू–भागमा मौसम मूख्यतया सफा रहेको छ । गण्डकी प्रदेशका थोरै स्थानहरूमा र सुदूर पश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ ।
विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ । मधेस प्रदेश तथा बाँकी प्रदेशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू–भागमा मुख्यतया सफा रहनेछ ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागको केही स्थानहरूमा, मधेश प्रदेशलगायत कोशी, बागमती, गण्डकी प्रदेशका तराई भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ ।
गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । सुदूर पश्चिम र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा तातो दिन तथा तराई भू–भागमा तातो लहर चल्ने सम्भावना रहेको छ ।
आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ । बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू–भागमा मुख्यतया सफा रहनेछ ।
कोशी र मधेश प्रदेशका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका तथा कर्णाली प्रदेशका हिमाली भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी र तराई भू–भागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।


















