इटहरी । सोमबारसम्म देशको तराई क्षेत्रमा अधिक तातो हुने मौसम विज्ञान विभागले जनाएको छ । विभागले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागको तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा माथि पुग्ने र तातो हावा चल्न सक्ने जोखिम रहेको जनाएको छ ।
अधिक गर्मी र तातो हावाको लहरले मानव स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै प्राधिकरणले दाङ, बाँके, बर्दिया, डोटी, कैलाली र कञ्चनपुरलाई उच्च सतर्कता अपनाउनुपर्ने जिल्लाको सूचीमा राखेको छ ।
कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, पाल्पा, प्युठान, रोल्पा, सल्यान, सुर्खेत, अछाम, डडेल्धुरा र बैतडीलाई अद्यावधिक (नियमित जानकारी लिनुपर्ने) जिल्लाको सूचीमा राखिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज विशेष सतर्कता सूचना जारी गर्दै अधिक गर्मीका कारण थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने र बान्ता हुने जस्ता स्वास्थ्य समस्याहरू देखा पर्न सक्ने जनाएको छ ।
प्राधिकरणका प्रवक्ता शान्ति महतद्वारा जारी सूचनामा तातो लहरबाट जोगिन सर्वसाधारणलाई निम्न उपायहरू अपनाउन अपिल गरिएको छः
१. चर्को घाम लागेको बेला वा दिउँसो सकेसम्म घरभित्रै बस्ने ।
२. बाहिर निस्कनै परे छाता ओढ्ने वा पातलो कपडाले टाउको ढाक्ने ।
३. खुकुलो, शीतल हुने हल्का रङको कपडा लगाउने ।
४. प्रशस्त पानी पिउने र बेलाबेला चिसो पानीले नुहाउने ।
५. धेरै चिनी नहालेको सर्बत, कागती पानी र फलफूल खाने । धेरै पसिना आएमा जीवनजल पिउने ।
६. सकेसम्म जंक फुड नखाने, घरमै बनाएको ताजा खानेकुरा खाने ।
७. खेतबारी वा बाहिरको काम बिहान गर्मी बढ्नुअघि वा दिउँसो शीतल शुरु भएपछि मात्रै गर्ने ।
८. बालबालिकालाई चर्को घाममा खेल्न नदिने ।
९. ज्येष्ठ नागरिक र मुटु, फोक्सो, मिर्गौलासम्बन्धी रोग भएकालाई गर्मीले छिटो असर गर्ने हुँदा विशेष ध्यान दिने ।
१०. कुनै स्वास्थ्य समस्या देखिए तत्काल स्वास्थ्य चौकी वा अस्पताल जाने ।
यसका साथै प्राधिकरणले विपद् सम्बद्ध सबै निकायहरूलाई सम्भावित जोखिम न्यूनीकरण र प्रतिकार्यका लागि आवश्यक पूर्वतयारीका साथ तयारी अवस्थामा रहन समेत निर्देशन दिएको छ ।


















