काठमाडौंः हिजो भएको खेलमा माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्दै नेपाल काभा महिला भलिबल च्याम्पियनसिपको सेमीफाइनलमा प्रवेश गरेको छ ।

समूह ए को पहिलो खेलमा भारतसँग पाँच सेटमा पुगेर पारजित भए पनि त्यसपछि लगातार कीर्गिस्तान र माल्दिभ्सलाई पराजित गरेपछि समूह ‘ए’बाट सेमीफाइनल पुग्ने नेपाल पहिलो टोली बनेको हो ।

नेपालले शनिबार कीर्गिस्तानलाई ३–० को सेटमा हराएको थियो । माल्दिभ्सलाई पनि ३–० कै सोझो सेटमा पराजित गरेसँगै नेपाल ७ अंकसहित सेमीफाइनलमा पुगेको हो ।

दशरथ रंगशाला कभर्डहलमा भएको समूह ए को आफ्नो अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई २५–१२, २५–९, २५–२० ले पराजित गरेको हो ।

खेलमा नेपालकी कप्तान निरुता ठगुन्नाले सर्वाधिक १४ अंक जोड्दा सुमिताले तीन सेट खेल्दै ११ अंक तथा दोस्रो र तेस्रो सेट खेलेकी सलिना बुढा मगरले ८ अंक जोड्नुभएको थियो ।

खेलमा उत्कृष्ट प्रदर्शन गर्दै कप्तान निरुता प्लेअर अफ दि म्याच घोषित हुनुभयो ।

आज हुने भारत र कीर्गिस्तानबीचको खेलपछि यस समूहबाट सेमीफाइनल पुग्ने अर्को टोलीको टुङ्गो लाग्नेछ र समूह विजेता र उपविजेता टिमको पनि निर्णय हुनेछ ।

भारतले कीर्गिस्तानलाई पराजित गरेमा भारत समूह ए को विजेता र नेपाल समूह उपविजेता बन्नेछ । सो खेलमा पराजित भएमा नेपाल समूह विजेता र कीर्गिस्तान समूह उपविजेता बन्नेछ ।

नेपालले जेठ १४ गते सेमीफाइनल खेल खेल्नेछ ।