लेटाङः स्थानीय स्काउट कार्यालय लेटाङ मोरङको आयोजनामा लागूपदार्थ दुर्व्यसनविरुद्ध जनचेतना फैलाउने उद्देश्यले लेटाङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
लेटाङ नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा विद्यार्थी, शिक्षक, विभिन्न संघसंस्थाका प्रतिनिधि, सामुदायिक वनका प्रतिनिधि तथा सुरक्षाकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि लेटाङ नगरपालिकाका नगरप्रमुख भुपेन्द्रकुमार लावतीले लागूपदार्थ दुव्र्यसन समाजका लागि गम्भीर चुनौती बन्दै गएको उल्लेख गर्नुभयो । उहाँले युवापुस्तालाई सही मार्गमा अघि बढाउनु अभिभावक, विद्यालय र समुदाय सबैको साझा जिम्मेवारी रहेको बताउनुभयो ।
अन्तरक्रियामा इलाका प्रहरी कार्यालय लेटाङका प्रतिनिधि सुरेशकुमार थापाले लागूपदार्थको प्रयोगबाट हुने सामाजिक, आर्थिक तथा मानसिक असरका विषयमा जानकारी गराउनुभयो । उहाँले युवाहरूलाई गलत सङ्गत र कुलतबाट टाढा रहन आग्रह गर्दै समुदायको सक्रिय सहयोग बिना दुव्र्यसन नियन्त्रण सम्भव नहुने बताउनुभयो ।
कार्यक्रममा पूर्व लागूऔषध प्रयोगकर्ता मनोज सुवेदीसहित अन्य पूर्व प्रयोगकर्ताहरूले आफ्ना अनुभव सुनाउनुभएको थियो । लागूपदार्थको कुलतले जीवनमा पार्ने नकारात्मक प्रभावबारे खुलेर अनुभव सुनाउँदै समयमै सचेत भए जीवन परिवर्तन गर्न सकिने पूर्व प्रयोगकर्ताको भनाइ थियो ।
अन्तरक्रियामा सहभागी विद्यार्थी, शिक्षक तथा संघसंस्थाका प्रतिनिधिहरूले लागूपदार्थ नियन्त्रण, युवामा बढ्दो दुव्र्यसन, अभिभावकको भूमिका तथा पुनस्र्थापनासम्बन्धी विषयमा प्रश्न राखेका थिए ।
सहभागीका जिज्ञासाको प्रमुख अतिथि, प्रहरी प्रतिनिधि तथा पूर्व प्रयोगकर्ताहरूले जवाफ दिँदै सचेतना, निगरानी र परामर्शलाई प्रभावकारी उपायका रूपमा औँल्याएका थिए ।
स्थानीय स्काउट शिक्षक निशान भुजेलले सहजीकरण गर्नुभएको थियो । स्थानीय स्काउट कार्यालय लेटाङ मोरङका संयोजक रिचन तिम्सिनाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।


















