इटहरी । आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै छ । विश्वको सर्वाेच्च शिखर सगरमाथामा पहिलो पटक सन् १९५३ मे २९ तारिख अर्थात् आजकै दिन बिहान ११ बजेर १५ मिनेटमा पहिलो पटक सफल आरोहण भएको थियो । सोही दिनको सम्झनामा यो दिवस मनाइन्छ ।

नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका एडमन्ड हिलारी पहिलो पटक सगरमाथाको शिखरमा पुग्नुभएको थियो । आरोही हिलारीको सन् २००८ जनवरी ११ मा र नोर्गेको सन् १९८६ मे ९ मा निधन भयो । हिलारीको निधनपछि नेपालमा सन् २००८ देखि सगरमाथा दिवस मनाउन थालिएको हो ।

सगरमाथाको चुचुरोमा पहिलो मानव पाइला पुगेको खबर नेपालीले पाँच दिनपछि मात्रै पाएका थिए । सन् १९५३ जुन २ मा बेलायती महारानी एलिजाबेथ द्वितीयको राज्याभिषेकको अवसरमा त्यो खबर बेलायतबाट सार्वजनिक गरिएको थियो । सो खबर नेपालमा जेठ २१ गते (जुन ३) मा गोरखापत्रमा प्राथमिकताका साथ छापिएको थियो । सगरमाथा आरोहणको खबरले विश्वभर ठूलो चर्चा पाउनुका साथै नेपाललाई सगरमाथाको देश भनेर विश्वभर चिनाएको थियो ।

सगरमाथा आरोहणको इतिहासमा २०७२ मा महाभूकम्प र २०७७ मा कोरोना महामारीका कारण कुनै मानव पाइला सगरमाथा चुचुरोमा पुगेनन् । २०७१ को वसन्त ऋतुमा हिमपहिरो गएका कारण आरोहण रोकिएको पर्यटन विभागले जनाएको छ ।

सगरमाथा आरोहणका क्रममा ३० भन्दा बढी विधामा रेकर्ड बनिएका छन् ।