विराटचोकः सुन्दरहरैंचा–१२ स्थित शुक्रबारे खेलमैदानमा जारी चौथो सुन्दरहरैंचा मेयर गोल्डकपअन्तर्गत हिजो भएको प्रतियोगितामा केराबारी गाउँपालिका सेमीफाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगिताको तेस्रो क्वाटर फाइनल खेलअन्तर्गत भएको प्रतिष्पर्धामा झापाको शिवसताक्षी नगरपालिकालाई १ का विरुद्ध २ गोलले हराउँदै केराबारी सेमीफाइनलमा पुगेको हो ।
प्रतियोगिताको अन्तिम क्वाटर फाइनल खेल आज सुनसरीको इटहरी उपमहानगरपालिका र मोरङको लेटाङ नगरपालिकाबीच दिउँसो ३ बजे हुने आयोजकले जनाएको छ ।
सुन्दरहरैंचा नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताका तीन क्वाटरफाइनल खेलबाट मोरङको बेलबारी नगरपालिका, उदयपुरको बेलका नगरपालिका र मोरङको केराबारी गाउँपालिका सेमीफाइनलमा पुगेका छन् ।
भोलि र पर्सि सेमीफाइनल चरणका खेल हुने र २३ गते फाइनल खेल हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको उपाधि विजेताले नगद ४ लाख रुपैयाँ र उपविजेताले नगद २ लाख रुपैयाँ नगदका साथमा शिल्ड प्राप्त गर्नेछन् ।


















