दुलारीः बौद्धिक अपाङ्गता अभिभावक संघ मोरङको आयोजना तथा बौद्धिक अपाङ्गता अभिभावक महासंघ नेपालको सहकार्यमा सुन्दरहरैंचा नगरपालिकामा पहिलो पटक “हाम्रोबारे निर्णय हामीसँगै, हामीलाई बुझेर” भन्ने नारासहित बौद्धिक अपाङ्गता दिवस मनाइएको छ ।
कार्यक्रममा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरू, अभिभावक, जनप्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो । कार्यक्रममा फिल्ड अफिसर उर्मिला सुवेदीले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको जिम्मेवारी राज्यले पनि लिनुपर्ने बताउँदै शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा र रोजगारीमा पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यपालिका सदस्य रुकमणि घिमिरे, सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ४ का अध्यक्ष कैलाश बस्नेतलगायतले अपाङ्गता भएका व्यक्तिहरूको सम्मानजनक जीवन र आवश्यक सेवामा पहुँचका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभएको थियो ।
सुन्दरहरैंचा नगरपालिकामा हाल १४५ जना बौद्धिक अपाङ्गता भएका व्यक्ति रहेको तथ्याङ्क रहेको जनाइएको छ ।


















