इटहरी ।  यस वर्ष जेठ महिनामा अधिकमास अर्थात् मलमास परेको छ । अधिकमासलाई पुरुषोत्तम मास पनि भनिन्छ ।

अधिकमासको कथामा वर्णन गरेअनुसार मलमासमा मालपुवा चढाउने र दान गर्ने चलन छ । मलमासमा ३३ देवताहरूलाई सम्झी अपूपदान अर्थात् मालपुवा दान गरिन्छ ।

मलमासमा रसवरी, जिलेबी, लड्डु, लालमोहन, पेडा आदि अरू कुनै खानेकुरा वा पक्वान्नहरू नभई मालपुवा नै हुनुपर्ने विशेष प्रावधान छ । पुरुषोत्तम महिनामा मालपुवा नै किन चाहिन्छ भन्ने हुन सक्छ । मालपुवालाई श्रीकृष्ण भगवानको प्रिय पक्वान्नको रूपमा लिइएको छ ।

त्यस्तै मालपुवामा देखिने थुप्रै प्वालहरूले गर्दा हामी र हाम्रा पूर्वजहरूले नर्कमा जानुपर्दैन, स्वर्ग प्राप्ति हुन्छ, परमात्माको धाममा निवास हुन्छ भन्ने पारम्परिक सोचअनुसार पनि मालपुवा चढाउने र दान गर्ने परम्परा बसेको हो ।

मालपुवा पनि ३३ ओटा नै किन चाहिने, ३० ओटा मात्रै भए पनि हुन्छ नि भन्ने कुराको पनि अधिकमासमा छुट्टै व्याख्या गरिएको छ ।
जस्तै
–३० ओटा मालपुवा एक महिनाको लागि,
–३१ औँ मालपुवा छोरीबेटीहरूको घरमा खाएको पाप नलागोस् भनेर,
–३२ औँ मालपुवा ब्राह्मणहरूको घरमा खाएको पाप नलागोस् भनेर र
–३३ औँ मालपुवा भने कुनै जुठो (आशौच) बारेको र सूतक परेको घरमा खाएको पाप नलागोस् भन्नका निमित्त पुरुषोत्तम महिनाको अन्त्यमा साङ्गे गर्दा पुरुषोत्तम भगवानलाई स्मरण गर्दै,
–३३ देवताहरूलाई सम्झिँदै,
–३३ मालपुवाको सङ्कल्प गरी दान गर्ने परम्परा वर्षौंदेखि चलिआएको छ ।
मलमासको साङ्गे गर्दा कर्मपात्र गरेर दीप–कलश–गणेशको पूजा गरी आज म फलानो नाम गरेको फलानो गोत्र गरेकोले फलानो नाम र गोत्र गरेको ब्राह्मणलाई फलानो काम सिद्धिका निमित्त यी ३३ मालपुवाहरू ३३ भगवानहरूलाई दानका निमित्त सङ्कल्प गर्छु भनेर पुरुषोत्तमस्वरूप ब्राह्मणलाई अर्पण गर्ने ।

यसरी अर्पण गरिसकेपछि फलानो नाम–गोत्रले फलानो नाम–गोत्र भएको ब्राह्मणलाई फलानो काम सिद्धिका निमित्त दानप्रतिष्ठा गर्दछु भनी दानप्रतिष्ठा गरी दक्षिणासमेत दिइन्छ ।