गोठगाउँः सुन्दरहरैंचा नगरपालिकाको आर्थिक सहयोग र ऊर्जा सामुदायिक विकासको आयोजनामा सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ गोठगाउँमा बाटेको धुप, अगरबत्ती तथा मैनबत्ती बनाउने तालिम हिजोदेखि शुरु भएको छ ।
१५ दिनसम्म सञ्चालन हुने तालिममा सुन्दरहरैंचाका ३२ जना महिला सहभागी छन् । प्रशिक्षार्थीलाई सुनिता छाराहाङ राईले सहजीकरण गरिरहनुभएको छ । सो तालिमको सुन्दरहरैंचा नगरपालिकाका सामाजिक शाखा प्रमुख गुणनिधि दाहालले हिजो उद्घाटन गर्नुभएको हो ।
तालिम उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि दाहालले चालु आर्थिक वर्षमा नगरपालिकाले सिटिइभिटीसँग समन्वय गरेर बढी तालिम सञ्चालन गरेको जनाउनुभयो । टेलरिङ, ब्युटीसियन, फोटोग्राफी तथा भिडियोग्राफी, वारिष्टालगायतका तालिम सिटिइभिटीसँग समन्वय गरेर प्रदान गरिएको उहाँको भनाइ थियो । बाटेको धुप बनाउने, साबुन बनाउनेलगायतका केही तालिम मात्र परम्परागत प्रकृतिका तालिममा नगरले बजेट विनियोजन गरेको उहाँले बताउनुभयो ।
सुन्दरहरैंचा महिला मञ्चकी अध्यक्ष विमला अधिकारीले ऊर्जा सामुदायिक विकासको आयोजनामा भएको तालिममा व्यवस्थापकीय जिम्मेवारी मञ्चले लिएको बताउनुभयो ।


















