विराटचोकः मोरङको सुन्दरहरैंचा– ८ सलकपुरका स्रष्टा राज लम्साल ‘यात्री’ को गजलसङ्ग्रह ‘यात्री’ प्रकाशित भएको छ । नेपाल पर्यटन बोर्ड, भृकुटी मण्डपमा आयोजित एक विशेष समारोहका बीच हालै सो कृतिको लोकार्पण गरिएको हो ।

कार्यक्रममा साहित्यकार छवि वैरागी घिमिरेले लेखकको व्यक्तित्व र गजलकार जे. सागरले कृतित्वमाथिको समीक्षा प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा प्रस्तोता बाबु त्रिपाठी र लेखकबीच गजलको रचनागर्भबारे अन्तरक्रिया पनि भएको थियो ।

कार्यक्रमको दोस्रो चरणमा गजलगायक राज सागरले विमोचित गजलसङ्ग्रह ‘यात्री’ भित्रका चार र सङ्ग्रहबाहिरको एक गरी पाँच ओटा गजल प्रस्तुत गर्नुभएको थियो ।

सो साङ्गीतिक प्रस्तुतिमा तबलामा अनन्त प्रजापति, भायोलिनमा यतिराज अधिकारी, सितारमा अनिल धिताल, बाँसुरीमा रोहित भाट र गिटारमा सञ्जीव गौतमले साथ दिनुभएको थियो ।
साहित्य पोस्टका प्रधान सम्पादक अश्विनी कोइरालाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन बाबु त्रिपाठीले गर्नुभएको थियो ।

यात्री गीत र गजल विधामा लामो समयदेखि कलम चलाउँदै आएका स्रष्टा हुन् ।

साहित्यकार ज्ञानुवाकर पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रा.डा. शैलेन्दुप्रकाश नेपाल, अग्रज स्रष्टा कलानिधि दाहाल, गजलकार जे. सागर, गायक राज सिग्देल, साहित्यकार डा. निरज कोइराला, गजलकार रूपक वनवासी, सङ्गीता थापा, हामी र हाम्रो कृति समाजका अध्यक्ष मदन नेपाल, सगरमाथा साहित्य प्रतिष्ठान नेपाल शाखाका पदाधिकारीलगायत विभिन्न साहित्यिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरू तथा स्रष्टाहरूको बाक्लो उपस्थिति रहेको थियो ।