इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टीको कोशी प्रदेश अधिवेशनमा पराजित भएपछि आफूले राजनीतिक बिट मारेको घोषणा निवर्तमान प्रदेश सभापति गोमा तामाङ (सरिन) ले बताउनुभएको छ । सांसदहरूले उम्मेद्वारको पक्ष विपक्षमा मत माग्न थालेपछि तामाङले मतदान हुनु अघि नै आक्रोश पोख्दै सांसदहरूले मत प्रभावित पार्ने आशंका गर्नुभएको छ ।
केही सांसदले संगठन बिथोल्ने प्रयास गरेको उहाँको भनाइ थियो । प्रदेश अधिवेशनमा भएको निर्वाचनको अन्तिम नतिजा नआउँदै सामाजिक सञ्जालमा स्टाटस लेख्दै राजनीतिबाट बिट मारेको घोषणा उहाँले गर्नुभएको थियो ।
सभापति पदका लागि खसेको कुल ४९० मतमध्ये राईले २८० मत प्राप्त गर्नुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी निवर्तमान प्रदेश सभापति गोमा तामाङ ९सरिन०ले १४१ मत ल्याउनुभएको थियो ।
अन्य उम्मेद्वारहरू खगेन्द्र कटुवालले ४१ मत र चन्द्रकुमार गौलीले २७ मत प्राप्त गर्नुभएको थियो । १ मत बदर भएको थियो ।
सभापति पदका लागि ६ जनाको उम्मेद्वारी परे पनि पछि २ जनाले आफ्नो उम्मेद्वारी फिर्ता लिनुभएको थियो । उदयपुरका पारसमणि गेलाल र तेह्रथुमका पीताम्बर तिम्सिनाले आफ्नो उम्मेद्वारी फिर्ता लिनुभएको थियो ।


















