इटहरी । आज बसेको मन्त्रिपरिषद् बैठकले तीन महत्वपूर्ण निर्णय गरेको छ । सरकारले गरेका ती निर्णयहरू सार्वजनिक गरिएको छ ।
जसअनुसार पहिलो निर्णयका रूपमा संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठन गरिएको कार्यदलको कार्यावधि थप गरिएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा रहेको उक्त कार्यदलको समयावधि असार मसान्तसम्म थपिएको हो ।
सरकारले संविधान संशोधनसम्बन्धी प्रारम्भिक अध्ययन तथा सुझाव तयारीलाई निरन्तरता दिन समय थप आवश्यक भएको जनाएको छ।
त्यस्तै, सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र छानबिनसँग सम्बन्धित उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन २०५२ कार्यान्वयन अघि बढाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइएको छ ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सो प्रतिवेदनमा समावेश निष्कर्ष र सिफारिसहरू कार्यान्वयन गर्न आवश्यक प्रक्रिया तत्काल अघि बढाउन भनिएको छ । सार्वजनिक सम्पत्तिको संरक्षण र दुरुपयोग रोक्न यो निर्णय महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।
लेखामान बोर्डको अध्यक्ष पदमा सिन्धुपाल्चोकका रमेशकुमार धिताललाई मनोनयन गर्ने आज भएको तेस्रो निर्णय भएको बताइएको छ ।


















