इटहरी ।  फिफा विश्वकप २०२६ को समूह ‘बी’ अन्तर्गतको आज बिहान भएको तेस्रो खेलमा सह–आयोजक क्यानडाले बोस्निया–हर्जगोभिनासँग १–१ गोलको बराबरी खेलेको छ । योसँगै दुवै टिमले १–१ अंक पाएका छन् ।

क्यानडाले घरेलु टोरन्टो रङ्गशालामा ४३ हजारभन्दा बढी दर्शकमाझ खेलेको खेलमा विश्वकप इतिहासमै आफ्नो पहिलो अङ्क जोड्न सफल भएको हो ।

खेलको २१ औँ मिनेटमा बोस्निया–हर्जगोभिनाका जे. लुकिचले हेडिङमार्फत उत्कृष्ट गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

मध्यान्तरअघि १–० ले पछि परेको क्यानडाका लागि मध्यान्तरपछि मैदान प्रवेश गरेका खेलाडी काइल लारिनले खेलको ७८ औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । त्यसपछि दुवै टिमबाट गोल नभएपछि दुवै टिमले समान १–१ अंक पाएका हुन् ।

जारी विश्वकपको चौथो खेल आज बिहान पौने ७ बजे आयोजक अमेरिका र पाराग्वेबीच हुनेछ ।