विराटचोकः विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिको आयोजनामा तथा सुन्दरहरैंचा नगरपालिकाको आर्थिक सहयोगमा सुन्दरहरैंचा नगरपालिका–१२ का महिलालाई लक्षित गरी उद्घोषण तथा माइन्युट लेखन तालिम सम्पन्न भएको छ ।
महिलाहरूको क्षमता अभिवृद्धि, नेतृत्व विकास तथा सार्वजनिक कार्यक्रममा सक्रिय सहभागिता बढाउने उद्देश्यले आयोजित तालिममा उद्घोषणकला र माइन्युट लेखनका विषयमा व्यावहारिक प्रशिक्षण प्रदान गरिएको थियो ।
तालिममा प्रशिक्षक सीमा बस्नेतले उद्घोषणकलासम्बन्धी सहजीकरण गर्दै प्रभावकारी सञ्चार, मञ्च सञ्चालनका आधारभूत सीप, आत्मविश्वास विकास तथा कार्यक्रम सञ्चालनका विभिन्न पक्षबारे प्रशिक्षण दिनुभएको थियो ।
त्यसैगरी सञ्चारकर्मी खेमचन्द्र अधिकारीले माइन्युट लेखनसम्बन्धी सहजीकरण गर्दै बैठकका निर्णय तथा गतिविधिलाई व्यवस्थित र प्रभावकारी रूपमा अभिलेखीकरण गर्ने विधिबारे जानकारी गराउनुभएको थियो ।
तालिम समापन कार्यक्रममा प्रशिक्षार्थी अञ्जली गौतमले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । सहभागी महिलाहरूले तालिमबाट प्राप्त ज्ञान र सीप आगामी दिनमा सामाजिक तथा संस्थागत गतिविधिमा उपयोगी हुने विश्वास व्यक्त गरेका छन् ।
कार्यक्रमप्रति धारणा राख्दै प्रशिक्षार्थी कमला अधिकारी, कल्पना अधिकारी र कृतिका तामाङले तालिमले आफूहरूमा नयाँ ज्ञान र आत्मविश्वास थपेको बताउनुभयो । यस्ता सीपमूलक कार्यक्रमले महिलाहरूलाई सामाजिक तथा सार्वजनिक क्षेत्रमा सक्रिय बन्न प्रेरणा मिल्ने उहाँहरूको भनाइ थियो ।
समापन कार्यक्रमका सभाध्यक्ष तथा सुन्दरहरैंचा नगरपालिका–१२ का वडाध्यक्ष रोशनप्रसाद ढकालले वडा कार्यालयले सामाजिक विकास कार्यक्रमअन्तर्गत बजेट विनियोजन गरेर तालिम सञ्चालन गरेको जानकारी दिनुभयो । महिलाहरूको क्षमता विकास र सशक्तीकरणका लागि यस्ता कार्यक्रम आवश्यक रहेको उल्लेख गर्दै उहाँले आगामी दिनमा समेत यस्ता सीपमूलक तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो ।
सहभागीहरूले तालिमलाई ज्ञान, सीप र आत्मविश्वास अभिवृद्धिको प्रभावकारी माध्यमका रूपमा लिँदै यस्ता कार्यक्रमलाई अझ व्यापक र नियमित बनाउनुपर्ने आवश्यकता औँल्याएका छन् ।













