इटहरी । आज कोशी प्रदेशका पहाडी तथा तराईका भूभागमा वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु र पूर्वीय वायुको आंशिक प्रभाव रहेको छ।
हाल कोशी प्रदेशको तराई भूभागमा साधारणतया बदली छ भने पहाडी तथा हिमाली क्षेत्रमा पनि बादल लागेको छ । आज दिउँसो कोशी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी प्रदेशको तराईका थोरै स्थानहरूमा पनि मेघगर्जन र चट्याङ्गसहित वर्षा हुन सक्ने मौसमविद्हरूले बताएका छन् ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा पनि आज वर्षाको सम्भावना छ । मधेश प्रदेशका एक–दुई स्थानमा वर्षाको प्रक्षेपण गरिएको भए पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।














