इटहरी ।  आज बिहान भएको फिफा विश्कपको समूह चरणको खेलमा इरान र न्युजिल्याण्डले दुईदुई गोलको बराबरी नतिजा निकालेपछि अंक बाँडेका छन् ।

अमेरिकाको क्यार्लिफोर्नियास्थित लस एन्जलस स्टेडियममा भएको खेलमा खेलको सुरुवातमा नै न्युजिल्यान्डका एलिजाह जस्टले सुरुवाती गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए ।

खेलको ३१ औँ मिनेटमा इरानका डिफेन्डर रामिन रेजैयानले गोल गर्दै खेललाई १–१ को बराबरी स्थितिमा ल्याएका थिए ।

मध्यान्तरपछि खेल शुरु भएको केही समयमै एलिजाह जस्टले व्यक्तिगत दोस्रो गोल गर्दै न्युजिल्यान्डलाई पुनः २–१ को अग्रता दिलाएका थिए ।

खेलको ६३ औं मिनेटमा इरानका मोहम्मद मोहेबीले उत्कृष्ट हेडरमार्फत गोल गर्दै खेललाई २–२ को नतिजामा फर्काएका थिए । त्यसपछि दुवै टिमबाट कुनै गोल हुन नसकी खेल बराबरीमा टुङ्गिएको हो ।

फिफाको विश्व वरीयतामा २० औं स्थानमा रहेको इरानलाई ८५ औं स्थानमा रहेको न्युजिल्यान्डले कडा टक्कर दिएर अंक बाँडेको हो ।