इटहरी । फिफा विश्वकप पहिलो पटक तीन राष्ट्रले आयोजना गर्नेदेखि अहिलेसम्मकै धेरै ४८ राष्ट्रले खेल्दैछन् भने १०४ खेल हुने भएका छन् । जुन एकै संस्करणमा हुन लागेको अहिलेसम्मकै धेरै खेल हो । विश्वकप फुटबलको इतिहासमा यी कीर्तिमान थपिएका छन् ।
मेक्सिकोको एज्टेका रंगशाला तीन फरक विश्वकप आयोजना गर्ने विश्वकै पहिलो रंगशाला बन्ने भएको छ । मेक्सिको तीन पटक विश्वकप आयोजना गर्ने पहिलो राष्ट्र बनेर पनि कीर्तिमान राख्दैछ ।
यी हुन् फिफा विश्वकप २०२६ मा तोडिन सक्ने पाँच कीर्तिमान
१. सर्वाधिक गोल सङ्ख्या
यस विश्वकपमा टिम सङ्ख्या र खेल सङ्ख्या बढेपछि अहिले कीर्तिमान बन्ने सम्भावना पनि धेरै छ । त्यसमा पनि एकै संस्करणमा धेरै गोलको कीर्तिमान यस संस्करणमा बन्न सक्छ । यसअघि कतार विश्वकपमा ६४ खेल हुँदा १७२ गोल भएका थिए । यस पटक १०४ खेल हुँदैछन् ।
कतार विश्वकपमा प्रति खेल गोल अनुपात २.६९ गोल थियो । कतार विश्वकप भन्दा ४० खेल बढी हुने भएपछि यस विश्वकपमा गोलको सङ्ख्या बढेर २०० हाराहारी पुग्ने अनुमान गरिएको छ ।
२. धेरैपटक विश्वकप खेल्ने कीर्तिमान
फिफा विश्वकपको ९६ वर्ष लामो इतिहासमा केही खेलाडीले एक भन्दा धेरै पटक पनि विश्वकप खेलेका छन् । ब्राजिलकी फोर्मिगाले ७ पटक महिला विश्वकप खेलेर कीर्तिमान बनाएकी थिइन् । पुरुष विश्वकपमा भने अहिलेसम्म पाँच खेलाडीले पाँच पटक विश्वकप खेलेका छन् ।
मेक्सिकोका एन्टोनिओ कार्बाजल र राफेल माक्र्वेज, जर्मनीका लोथार म्याथुएस, अर्जेन्टिनाका लियोनेल मेस्सी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले पाँच पटक विश्वकप खेलिसकेका छन् ।
यी पाँचमध्ये मेस्सी र रोनाल्डो आधुनिक फुटबलका सुपर स्टार नै हुन् । एकै समयमा दुई उत्कृष्ट खेलाडी २०२६ को विश्वकप खेल्ने टोलीमा पनि समावेश छन् र छैटौं पटक विश्वकप खेल्ने अभियानमा छन् ।
३. सर्वाधिक गोलकर्ताको कीर्तिमान
जर्मनीका मिरोस्लाभ कोलजले चार पटक विश्वकप खेल्दै सर्वाधिक १६ गोल गरेका छन् । उनले सन् २०१४ को विश्वकपमा ब्राजिलियन रोनाल्डोको १५ गोलको कीर्तिमान तोडेका थिए । क्लोजले बनाएको यो कीर्तिमान यस पटक संकटमा छ । किनभने विश्वकै उत्कृष्ट खेलाडी अर्जेन्टिनाका लियोनेल मेस्सीले पाँच पटक विश्वकप खेल्दा १३ गोल गरेका छन् । उनले २०२६ मा थप ४ गोल गरेमा क्लोजको कीर्तिमान ब्रेक गर्न सक्छन् ।
यस्तै २७ वर्षीय फ्रेन्च कप्तान किलिएन एमबाप्पे पनि सर्वाधिक गोलकर्ता बन्ने अभियानमा छन् । एमबाप्पेले अहिलेसम्म २ विश्वकप मात्र खेलपनि १२ गोल गरिसकेका छन् ।
४. धेरै खेल जित्ने खेलाडी
जर्मनीका मिरोस्लाभ क्लोजले विश्वकपमा १७ खेल जितेका छन् । उनले सन् २०१४ मा ब्राजिलका काफुको नाममा रहेको कीर्तिमान तोडेका थिए । उनी भन्दा पछि रहेका अर्जेन्टिनाका मेस्सीले पनि १६ खेल जितिसकेका छन् । यदि फिफा विश्वकप २०२६ मा मेस्सीले एक खेल मात्र जिते पनि त्यो कीर्तिमान बराबरी हुनेछ ।
५. प्रशिक्षकको रूपमा धेरै जीत
विश्वकपमा अहिलेसम्म पश्चिम जर्मनीका हेल्मट स्कोन्सले प्रशिक्षकको रुपमा सर्वाधिक १६ खेल जितेका छन् । तर यस पटक भने फ्रान्सका डिडियर डेसच्याम्प्सले हेल्मटको कीर्तिमानलाई चुनौती दिन सक्छन् ।
यदि फ्रान्सले २०२६ को विश्वकपमा थप दुई खेल जितेमा हेल्मुटसँग संयुक्त रूपमा सर्वाधिक खेल जित्ने प्रशिक्षक बन्नेछन् । यस्तै तीन खेल जितेमा ४८ वर्षीय डेसच्याम्प्सले विश्वकपमा सर्वाधिक खेल जित्ने प्रशिक्षकको कीर्तिमान बनाउनेछन् ।
यी सम्भावित कीर्तिमानबाहेक अन्य नयाँ कीर्तिमान र पुराना कीर्तिमानको ब्रेक पनि यो विश्वकपमा हुन सक्ने देखिन्छ ।
त्यसका लागि साउन ४ गतेसम्म कुर्नुपर्ने हुन्छ ।












