इटहरी । आज बिहान अमेरिकाको कान्सास सिटी रंगशालामा भएको खेलमा अल्जेरियालाई ३–० ले पराजित गर्दै अर्जेन्टिनाले ३ अङ्क हात पारेको छ ।
अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीको ह्याट्रिकमा साविक बिजेता अर्जेन्टिनाले फिफा विश्वकप –२०२६ मा शानदार प्रदर्शन गरेको हो ।
छैटौं पटक विश्वकप खेलिरहेका मेस्सीले आफ्नो विश्कपको इतिहासमा पहिलो पटक ह्याट्रिक पूरा गरेका हुन् । उनले खेलको १७ औं, ६० औं र ७६ औं मिनेटमा गोल गरेका थिए ।
ह्याट्रिकसँगै मेस्सीले विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमानसमेत बराबरी गरेका छन् । विश्वकपमा १६ गोल गर्दै मेस्सीले जर्मनीका मिरोस्लाभ क्लोसको नाममा रहेको कीर्तिमान बराबरी गरेका हुन् ।
सन् २००६ मा विश्वकपमा डेब्यु गरेका मेस्सीले अल्जेरिया विरुद्ध खेलेपछि छैटौं विश्वकप खेल्ने पहिलो खेलाडीको कीर्तिमान पनि बनाएका थिए ।
उनले सन् २०१० को विश्वकपबाहेक पाँच विश्वकपमा गोल गरेका उनले चार वर्षअघि कतारमा भएको प्रतियोगितामा आफ्नै कप्तानीमा अर्जेन्टिनालाई विश्वकप उपाधि जिताएका थिए ।
मेस्सीले विश्वकपमा २७ औं खेल खेलेर पनि कीर्तिमानी कायम गरेका छन् ।


















