इटहरी । अमेरिकाको क्यार्लिफोर्नियास्थित सान फ्रान्सिस्को वे एरिया रंगशालामा आज भएको खेलमा अष्ट्रियाले जोर्डनलाई ३–१ ले पराजित गरेको छ ।


फिफा विश्वकप–२०२६ को समूह चरणको पहिलो खेलमा अष्ट्रियाको जीतमा रोमानो स्चमिड र मार्काे अर्नाटोभिकले एकएक गोल गरेका थिए भने एक गोल आत्मघाती गोल भएको थियो ।

योसँगै जारी विश्कपमा ३ वटा गोल आत्मघाती भइसकेका छन् । खेलको २० औं मिनेटमा रोमानोले गोल गर्दै अष्ट्रियालाई अग्रता दिलाएका थिए । तर, ५० औं मिनेटमा अली ओल्वानले गोल गर्दै जोर्डनलाई बराबरीमा फर्काएका थिए । खेलको ७६ औं मिनेटमा जोर्डनका याजान अलारबले आत्मघाती गोल गरेका थिए भने मध्यान्तरपछिको इन्जुरी समयमा डिबक्सभित्र जोर्डनका खेलाडीको हातमा बलले लागेपछि अष्ट्रियाले पेनाल्टी पाएको थियो । सो पेनाल्टीलाई सदुपयोग गर्दै मार्काेले अर्काे गोल गरेका थिए ।

पहिलो पटक विश्वकप खेल्न पुगेको जोर्डनलाई आठौं पटक विश्वकप खेल्दै गरेको अष्ट्रियाले पराजित गरेको हो ।