इटहरी ।  जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको छ ।

आज बिहानैदेखि कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा मध्यमदेखि भारी वर्षा भएको छ । पछिल्लो एक घण्टामा उदयपुर गढीमा ११.६ मिलिमिटर र सिन्धुलीको दुधौलीमा ८.६ मिलिमिटर वर्षा मापन भएको छ ।

महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा झापाको बाहुनडाँगीमा ७१ मिलिमिटर, मोरङको लेटाङस्थित सकफरामा ६२.२ मिलिमिटर र गोरखामा ७१ मिलिमिटर वर्षा भएको छ ।

आज दिउँसो कोशी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

कोशी र मधेश प्रदेशको तराईका पनि एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानहरू तथा बागमती र गण्डकी प्रदेशका तराई भू–भागका थोरै स्थानमा भने तातो दिन हुने सम्भावना रहेको महाशाखाको अनुमान छ ।

आज राति कोशी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

कोशी प्रदेशको तराईका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।