इटहरी । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा कंगो डीआर र पोर्चुगलले १–१ को बराबरी नतिजा निकाल्दै अंक बाँडेका छन् ।
खेलको छैटौँ मिनेटमै पोर्चुगलका पेड्रो नेटोको सुन्दर क्रसलाई जोआओ नेभेसले हेडमार्फत गोलमा परिणत गरेका थिए ।
मध्यान्तरअघिको अतिरिक्त समयमा कंगोका योआने विसाले आर्थर मासुयाकुको क्रसमा उत्कृष्ट हेड गोल गर्दै खेललाई बराबरीमा लगेका थिए ।
५२ वर्षअघि सन् १९७४ मा पहिलो पटक विश्वकप खेलेको कंगोले विश्वकपमा पहिलो गोल गर्न सन् २०२६ सम्म पर्खनुपरेको थियो ।
पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले यस खेलमार्फत नयाँ इतिहास रचेका छन् । ४१ वर्ष १३२ दिनको उमेरमा मैदान उत्रिएका रोनाल्डो विश्वकपमा ‘स्टार्टिङ ११’ (खेलको सुरुवातमै मैदान छिर्ने) मा पर्ने सबैभन्दा पाका आउटफिल्ड खेलाडी बनेका छन् । २३ औँ विश्वकप खेल खेलिरहेका उनले इटालीका लिजेन्ड पाओलो माल्दिनीको कीर्तिमानसँग बराबरी गरेका छन् ।
त्यस्तै, रोनाल्डो विश्वकप खेल्ने इतिहासकै दोस्रो पाका आउटफिल्ड खेलाडी बनेका छन् । यसअघि क्यामरुनका रोजर मिलाले ४२ वर्ष ३९ दिनको उमेरमा सन् १९९४ को विश्वकप खेलेका थिए ।















