खेमचन्द्र अधिकारी
इटहरी । फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणका पहिलो राउण्डका खेल सम्पन्न भएका छन् । समूह चरण अन्तर्गत पहिलो राउण्डका खेल सकिँदा मेक्सिको, दक्षिण कोरिया, अमेरिका, जर्मनी, स्वीडेन, नर्वे, अर्जेन्टिना, कोलम्बिया तथा इङ्ग्ल्यान्डले विजयी सुरुआत गरेका छन् ।

पहिलो राउण्डको खेलपछि विभिन्न समूहमा रोचक प्रतिस्पर्धा देखिएको छ । केही समूहमा सबै टोली बराबरीमा रोकिँदा दोस्रो खेलको महत्त्व झन् बढेको छ ।

समूह ‘ए’ मा मेक्सिको र दक्षिण कोरिया समान ३–३ अंकसहित शीर्ष दुई स्थानमा छन् । चेक रिपब्लिक र दक्षिण अफ्रिका अंकविहीन अवस्थामा छन् ।

समूह ‘बी’ सबैभन्दा प्रतिस्पर्धात्मक बनेको छ । क्यानडा, कतार, स्वीट्जरल्यान्ड र बोस्निया एन्ड हर्जेगोभिना चारै टोलीले समान १–१ अंक जोडेका छन् ।

समूह ‘सी’ मा स्कटल्यान्डले ३ अंकसहित अग्रता लिँदा ब्राजिल र मोरक्कोले १–१ अंक बाँडेका छन् । हाइटी भने अंकविहीन रहँदै समूहको पुछारमा छ ।

समूह ‘डी’ मा अमेरिका र अष्ट्रेलियाले विजयी सुरुआत गर्दै ३–३ अंक जोडेका छन् । टर्की र पाराग्वेले भने हार बेहोरेकाले अंकविहीन रहेका छन् ।

समूह ‘ई’ मा जर्मनी र आइभोरी कोस्ट समान ३–३ अंकसहित शीर्ष स्थानमा छन् । इक्वेडर र कुरासाओले अंकको खाता खोल्न सकेका छैनन् ।

समूह ‘एफ’ मा स्वीडेन ३ अंकसहित शीर्ष स्थानमा रहँदा नेदरल्यान्ड्स र जापानले १–१ अंक जोडेका छन् । ट्युनिसिया भने अंकविहीन हुँदै समूहको पुछारमा रहेको छ ।

समूह ‘जी’ र ‘एच’ मा सबै टोलीले समान १–१ अंक जोड्दै प्रतिस्पर्धा खुला राखेका छन् । इरान, न्युजिल्यान्ड, बेल्जियम र इजिप्ट समूह ‘जी’ मा तथा साउदी अरेबिया, उरुग्वे, स्पेन र केप भर्डे समूह ‘एच’ मा बराबरी अंकसहित छन् ।

समूह ‘आई’ मा नर्वे र फ्रान्सले विजयी सुरुआत गरेका छन् भने सेनेगल र इराकले हार बेहोरेका हुनाले अंकविहीन छन् ।

समूह ‘जे’ मा अर्जेन्टिना र अस्ट्रियाले ३–३ अंक जोड्दै अग्रता बनाएका छन् । जोर्डन र अल्जेरिया अंकविहीन छन् ।

समूह ‘के’ मा कोलम्बिया शीर्ष स्थानमा रहँदा पोर्चुगल र डीआर कंगोले १–१ अंक जोडेका छन् । उज्वेकिस्तान अंकविहीन छ ।

समूह ‘एल’ मा इङ्ग्ल्यान्ड र घानाले विजयी सुरुआत गरेका छन् भने पानामा र क्रोएसिया अंकविहीन रहेका छन् ।

पहिलो चरणपछि केही परम्परागत शक्तिशाली टोलीले जीतसहित दबाब कम गरेका छन् भने ब्राजिल, पोर्चुगल, स्पेन, जापान र नेदरल्यान्ड्सजस्ता टोलीले बराबरी खेलेपछि आगामी खेलमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने अवस्था बनेको छ । समूह चरणको दोस्रो राउण्डले नकआउट यात्राको दिशा तय गर्ने भएकाले विश्व फुटबलप्रेमीको ध्यान अब आगामी खेलतर्फ केन्द्रित भएको छ ।

समूह चरणअन्तर्गत दोस्रो राउण्डका खेलहरु आज शुरु हुँदैछन् ।