इटहरी । अमेरिकाको लस एन्जलसस्थित सोफाइ स्टेडियममा भएको खेलमा बोस्निया एन्ड हर्जगोभिनालाई ४–१ ले पराजित गर्दै स्वीट्जरल्यान्डले जारी विश्कपमा पहिलो जीत दर्ता गरेको छ । समूह चरणको पहिलो खेलमा स्वीट्जरल्याण्ड कतारसँग १–१ गोलको बराबरीमा रोकिएको थियो ।
अमेरिकाको लस एन्जलसस्थित सोफाइ स्टेडियममा भएको खेलमा स्वीट्जरल्यान्डका लागि जोहान मान्जाम्बीले दुई तथा रुबेन वर्गास र ग्रानिट जाकाले एकएक गोल गरेका थिए ।
स्वीट्जरल्याण्डका जोहान मान्जाम्बीले खेलको ७४ औं मिनेटमा गोल गर्दै स्वीट्जरल्यान्डलाई पहिलो अग्रता दिलाएका थिए ।
त्यसपछि ८० औं मिनेटमा बोस्निायाका तारिक मुहारेमोभिकले विपक्षी खेलाडीलाई लडाएपछि रातो कार्ड पाउँदै बाहिरिएका थिए ।
रुबेन वर्गासले खेलको ८४ औं मिनेटमा गोल गर्दै स्वीट्जरल्यान्डको अग्रता दोब्बर बनाएका थिए ।
जोहानले ९० औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता तेब्बर बनाए ।
मध्यान्तरपछिको अतिरिक्त समयमा एर्मिन माहमिकले गोल गर्दै बोस्नियालाई खेलमा फर्काउने कोशिस गरेका थिए ।
खेलको आखिरी समयमा डिबक्सभित्र स्वीट्जरल्यान्डका खेलाडीलाई लडाएपछि स्वीट्जरल्याण्डले पाएको पेनाल्टीको सदुपयोग गर्दै ग्रानिट जाकाले चौथो गोल गरेपछि स्वीट्जरल्यान्ड ४–१ ले विजयी भएको हो ।















