इटहरी । फिफा विश्वकप २०२६ को सह आयोजक क्यानडाले कतारलाई ६–० को गोल वर्षा गरी विश्वकपमा पहिलो जीत दर्ता गरेको छ ।
क्यानडाको भ्यानकुभरस्थित बीसी प्लेस स्टेडियममा भएको खेलमा खेलमा जोनाथन डेभिडले ह्याट्रिक पूरा गरे भने साइले लारिन र नाथन सालिबाले एकएक गोल गरे । एक गोल भने आत्मघाती गोल भएको थियो । जारी विश्वकपको यो चौथो आत्मघाती गोल हो ।
खेलको १६ औं मिनेटमा साइले लारिनले गोल गर्दै क्यानडालाई अग्रता दिलाएका थिए । त्यसपछि जोनाथन डेभिडले २९ औं मिनेटमा गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाए ।
३३ औं मिनेटमा हमाम अहमद रातो कार्ड मैदानबाट बाहिरिएपछि कतार १० खेलाडीमा सीमित बनेको थियो । मध्यान्तरअघिको अतिरिक्त समयमा जोनाथनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रतालाई तेब्बर बनाएका थिए ।
खेलको ५१ औं मिनेटमा असिम माडिबोले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएसँगै कतार ९ खेलाडीमा सीमित बनेको थियो । खेलको ६४ औं मिनेटमा नाथनले गोल गर्दा क्यानडाले ४ गोल कतारमाथि प्रहार गरेको थियो ।
खेलको ७५ औं मिनेटमा कतारका मोहम्मद मनाईले आत्मघाती गोल गर्न पुगेका थिए । मध्यान्तरपछिको अतिरिक्त समयमा जोनाथनले ह्याट्रिक पूरा गर्दै टोलीलाई ६–० को फराकिलो जीत दर्ता गरेसँगै विश्वकप इतिहासमा क्यानडाको पहिलो जीत दर्ता भएको हो ।
यो जीतसँगै क्यानडा २ खेलबाट ४ अंक जोड्दै समूह ‘बी’ को शीर्ष स्थानमा छ । समान ४ अंक भएको स्वीट्जरल्यान्ड गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ । बोस्निया एन्ड हर्जगोभिना र कतारको समान एकएक अंक छ ।
यसअघि दुई विश्वकप खेलेको क्यानडाले कुनै पनि खेल जितेको थिएन ।















