इटहरी । सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनमा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख, प्रहरी निरीक्षक सन्तोष न्यौपाने जेठ महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित भएका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले न्यौपानेलाई उनले पुर्याएको विशिष्ट योगदानको उच्च मूल्याङ्कन गर्दै २०८३ साल जेठ महिनाको उत्कृष्ट प्रहरीको रूपमा सम्मान गरेको हो ।
प्रहरी निरीक्षक न्यौपानेले मोरङमा सवारी दुर्घटना न्यूनीकरण गर्न चालक तथा सह–चालकहरूको विस्तृत स्वास्थ्य परीक्षण, लागूऔषध तथा मादक पदार्थ सेवन (लापासे\मापासे) विरुद्धको कडा जाँच र नियम उल्लङ्घन गर्नेहरूलाई कानुनी दायरामा ल्याउन नेतृत्वदायी भूमिका खेलेका थिए ।
शहरी क्षेत्रमा चुनौतीको रूपमा रहेको सिटी सफारीलाई अनुशासित र मर्यादित बनाउन उनले शुरु गरेको ‘सुरक्षित चालक’ अभियान निकै प्रभावकारी देखिएको बताइएको छ ।
आफ्नो कार्यक्षेत्रमा नवीनता ल्याउँदै न्यौपानेले सरोकारवाला निकायहरूसँगको समन्वयमा ट्राफिक व्यवस्थापनका लागि ह्वील लक, चेन लक, ‘नो पार्किङ’ बोर्ड, ट्राफिक कोन र रिफ्लेक्टिभ ज्याकेटहरू प्रयोगमा ल्याई सडक व्यवस्थापनलाई थप चुस्त बनाएका छन् । ‘जेन–जी’ आन्दोलनका क्रममा क्षति पुगेका ट्राफिक लाइट र सोलार वार्निङ लाइटहरू पुनः जडान गरी सवारी आवागमनलाई सहज बनाउन उनले विशेष पहल गरेका थिए ।
प्रहरीको छवि सुधार्न र सेवाग्राहीको सहजताका लागि उनले कार्यालय परिसरमा प्रतीक्षालय समेत निर्माण गराएका छन् । समुदायस्तरमा निरन्तर ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरी सडक अनुशासन कायम गराउन उनले देखाएको सक्रियता र उच्च मनोबलको कदर गर्दै प्रदेश प्रहरीले यो सम्मान प्रदान गरेको हो ।
विभागीय मूल्य–मान्यता र आदेशको पालना गर्दै चुनौतीपूर्ण अवस्थामा पनि व्यावसायिकता प्रदर्शन गर्ने प्रहरी कर्मचारीलाई प्रोत्साहित गर्ने नीति अनुरूप न्यौपानेलाई पुरस्कृत गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
















