इटहरी ।  फिफा विश्वकप २०२६ को सहआयोजक राष्ट्र मेक्सिको एक खेल खेल्न बाँकी छँदै नक आउट चरणमा प्रवेश गरेको छ ।

मेक्सिकोको ग्वाडलाजारा स्टेडियममा आज बिहान भएको खेलमा दक्षिण कोरियालाई १–० ले हराउँदै मेक्सिको एक खेलअगावै नकआउट चरणमा प्रवेश गरेको हो ।

मेक्सिकोको जीतमा लुइस रोमोले निर्णायक गोल गरेका थिए । उनले खेलको ५० औं मिनेटमा गरेको गोल नै मेक्सिकोको जीतका लागि पर्याप्त भयो र समूह चरणको एक खेल खेल्न बाँकी रहँदै सो नक आउट चरणमा प्रवेश गर्याे ।

समूह ‘ए’ बाट ६ अंक जोड्दै मेक्सिको नकआउट चरणमा पुग्दा आजको खेलमा पराजित भए पनि दक्षिण कोरियाको ३ अंक रहेकाले दक्षिण कोरियाको पनि नकआउट पुग्ने सम्भावना कायमै छ ।

दक्षिण कोरियाले पहिलो खेलमा चेक रिपब्लिकलाई पराजित गरेको थियो । मेक्सिकोले दक्षिण अफ्रिकालाई पराजित गरेको थियो ।

२ खेलबाट समान एक अंक जोडेका चेक रिपब्लिक र दक्षिण अफ्रिकाको पनि नकआउट चरणमा पुग्ने सम्भावना जीवितै छ ।

आजको जीतसँगै जारी विश्वकपको नकआउट चरणमा पुग्ने पहिलो टोली मेक्सिको बनेको छ । सन् २०१८ को विश्वकपमा अन्तिम–१६ सम्म पुगेको मेक्सिको सन् २०२२ मा भने समूह चरणबाटै बाहिरिएको थियो ।

यस पटकको विश्वकपमा पनि उसको प्रदर्शन राम्रै देखिएको खेल विश्लेषक बताउँछन् ।