इटहरी ।  गत २४ घण्टामा तनहुँमा धेरै भारी वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार तनहुँको कोटगाउँमा १३६ मिलिमिटर वर्षा भएको छ । बन्दीपुरमा ८१ मिलिमिटर, दमौलीमा ६९ मिलिमिटर बागलुङको श्रीकांङमा ७५ मिलिमिटर, कास्कीको याङ्जाकोटमा ६४.४ मिलिमिटर र गोरखामा ५४ मिलिमिटर वर्षा भएको छ ।

अन्य भूभागमा हल्कादेखि मध्यम र भारी वर्षा भएको छ ।

आज दिउँसो कोशी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

त्यस्तै, कोशी प्रदेशका तराई भू–भागका केही स्थानमा तथा मधेस प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

विभागका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थानमा पनि तातो दिन हुने सम्भावना रहेको छ ।

राति मधेस प्रदेश र अन्य हिमाली र पहाडी भू–भागमा आंशिक बादल तथा अन्य तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

मधेस प्रदेशमा एक–दुई स्थान र कोशी प्रदेशको तराईका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।


कोशी र गण्डकी प्रदेशका पहाडी भू–भाग तथा कोशी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।