इटहरी ।  फिफा विश्वकप २०२६ अन्तर्गत नेदरल्यान्ड्सले स्वीडेनलाई ५–१ गोल अन्तरले पराजित गरेको छ ।

अमेरिकाको ह्युस्टन स्टेडियममा भएको खेलमा नेदरल्यान्ड्सको जीतमा ब्रायन ब्रोबी र कोडी गाक्पोले दुई–दुई गोल तथा क्रिसेन्सियो समरभिलले १ गोल गरेका थिए ।

यो जीतसँगै दुई खेलबाट ४ अङ्क जोड्दै नेदरल्यान्ड्स समूह ‘एफ’ को शीर्ष स्थानमा उक्लिएको छ ।

समूह एफमा नेदरल्यान्ड्सको यो पहिलो जीत हो । पहिलो खेलमा जापानसँग बराबरी खेलेको नेदरल्यान्ड्स दुई खेलबाट ४ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ र नकआउट पुग्ने सम्भावना बलियो बनाएको छ ।

पहिलो हार बेहोरेको स्वीडेन भने ३ अंकसहित समूह एफ को दोस्रो स्थानमा छ ।

ब्रायन ब्रोबीले शुरुमै दुई गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए ।

ब्रोबीले छैटौं मिनेटमै गोल गर्दै डच टोलीलाई अग्रता दिलाएका थिए । कोडी गाक्पोले बायाँ भागबाट दिएको क्रसमा ब्रोबीले गोल गरेका थिए ।

खेलको १७ औं मिनेटमा डेन्ज डुम्रफाइसले दिएको क्रसमा ब्रोबीले दोस्रो गोल गरेका थिए ।
नेदरल्यान्ड्सले पहिलो खेलमा जापानसँग २–२ को बराबरीमा रोकिएको थियो ।

पहिलो खेलमा ट्युनिसियालाई ५–१ ले नै पराजित गरेको स्वीडेन भने नेदरल्यान्ड्ससँग सोही स्कोरमा पराजित भएको छ ।