इटहरी ।  क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी गोलसँगै उज्वेकिस्तानलाई ० का विरुद्ध ५ गोलले पराजित गरेपछि पोर्चुगलले फिफा विश्वकप २०२६ मा पहिलो जीत हात पारेको छ ।

समूह के अन्तर्गत अमेरिकाको ह्युस्टनमा भएको खेलमा रोनाल्डोको दुई गोल मदतमा पोर्चुगलले पहिलो पटक विश्वकप खेलिरहेको उज्वेकिस्तानलाई ५–० ले पराजित गरेको हो । पोर्चुगलका नुनो मेन्डेज र राफेल लिआऔले पनि १–१ गोल गरे । एक गोल भने आत्मघाती भएको थियो ।

पहिलो जीतपछि पोर्चुगल २ खेलबाट ४ अंक जोड्दै शीर्ष स्थानमा उक्लेको छ । पहिलो खेलमा पोर्चुगलले डिआर कंगोसँग १–१ को बराबरी खेल्दा १ अंकमात्रै पाएको थियो । दुवै खेलमा पराजित उज्वेकिस्तान भने समूह चरणबाटै बाहिरिने संघारमा छ ।

आजको खेलमा रोनाल्डोले खेलको छैटौं मिनेटमै गोल गर्दैं लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाएका थिए । रोनाल्डोले सन् २००६ देखि २०२६ सम्म लगातार ६ विश्वकप खेल्दा ६ वटै विश्वकपमा गोल गरेका हुन् ।

पोर्चुगलका नुनो मेन्डेजले १७ औं मिनेटमा फ्रिकिक मार्फत् गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारेका थिए ।

खेलको ३९ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दा टिमका लागि तेस्रो गोल भएको थियो । सो गोलसँगै पोर्चुगलका लागि विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमान पनि रोनाल्डोले बनाए । उनले युसोबियाको नाममा रहेको ९ गोलको कीर्तिमान तोडेका हुन् ।

पोर्चुगलले मध्यान्तरपछिको खेलमा आत्मघाती गोल उपहार पाएको थियो । म्यानचेस्टर सिटीबाट खेल्ने उज्वेकिस्तानका अब्दुभोहिद नेमातोभले ६० औं मिनेटमा बल क्लियर गर्ने क्रममा आफ्नै पोस्टमा गोल गरेपछि पोर्चुगलले ४–० को अग्रता बनाएको थियो ।

वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका लिआओले ८७ औं मिनेटमा पोर्चुगलका लागि अर्काे गोल गरेका थिए ।