विराटचोकः जनचेतना सामुदायिक वन उपभोक्ता समूह सुन्दरहरैंचाले शनिबार नगरप्रमुख केदारप्रसाद गुरागाईंको प्रमुख आतिथ्यतामा सो सामुदायिक वन क्षेत्रमा विभिन्न प्रजातिका ८ हजार बिरुवा रोप्ने काम शुरु गरेको छ ।
वन उपभोक्ता समूहका अध्यक्ष सीताराम पाण्डेका अनुसार करिब ५ दशमलव १० हेक्टर क्षेत्रफलमा वृक्षारोपण गरिने भएको हो । सो क्षेत्रमा ४ हजार साल, ३ हजार आस्ना तथा करिब १ हजार ९ सय फलफूल र अन्य प्रजातिका बिरुवा रोपिने जानकारी दिनुभयो ।
वातावरण संरक्षण, हरियाली प्रवद्र्धन तथा वन संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा डिभिजन वन कार्यालय मोरङका प्रमुख उत्सव थापा, वडा नं. ९ का वडाअध्यक्ष प्रकाश श्रेष्ठलगायत जनप्रतिनिधि, विभिन्न सामुदायिक वनका अध्यक्ष तथा पदाधिकारी, टोल विकास संस्थाका प्रतिनिधि, सामाजिक कार्यमा सक्रिय सहयोगी व्यक्तिहरू, वन कार्यालयका कर्मचारी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रममा नगरप्रमुख गुरागाईंले वृक्षारोपणले वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने बताउँदै रोपिएका बिरुवाको संरक्षणमा सबै जिम्मेवार बन्नुपर्ने जनाउँदै नगरपालिकाले सहलगानीमार्फत् वातावरण तथा वन संरक्षणका कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।
डिभिजन वन कार्यालय मोरङका प्रमुख उत्सव थापाले प्राकृतिक पुनरुत्पादनको क्षेत्रमा कार्यालयले निरन्तर काम गर्दै आएको बताउनुभयो ।


















