इटहरी । आज बिहान अमेरिकाको बोस्टन स्टेडियममा भएको राउण्ड अफ ३२ को खेलमा दक्षिण अमेरिकी राष्ट्र पाराग्वेले जर्मनीलाई पेनाल्टी सुट आउटमा ४–३ गोलले पराजित गरी अन्तिम १६ मा आफ्नो नाम दर्ता गरेको छ ।
निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १–१ को बराबरीमा सकिएपछि खेलको नतिजा पेनाल्टी सुटआउटमार्फत् गरिएको थियो ।
जर्मनी विश्वकपमा पेनाल्टी सुटआउटमा पराजित भएको यो पहिलो पटक हो । सन् २००२ मा जापान र कोरियामा भएको विश्वकपको अन्तिम १६ मा जर्मनीसँगै पराजित भएको पाराग्वेले २४ वर्षपछि त्यो हारको बदला लिएको छ ।
पाराग्वेले अब फ्रान्स र स्वीडेनबीचको खेलको विजेतासँग अन्तिम १६ मा खेल्नेछ ।
जर्मनी जारी विश्वकपबाट बाहिरिने दोस्रो पूर्व विजेता टोली बनेको छ । यसअघि उरुग्वे समूह चरणबाट बाहिरिइसकेको छ ।
सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपको उपाधि जितेयता जर्मनीले विश्वकपको नकआउट चरणमा खेल जित्न सकेको छैन । पछिल्लो दुई विश्वकपमा समूह चरणबाटै बाहिरिएको जर्मनी १२ वर्षपछि नकआउट चरण पुगेको थियो ।


















