लेटाङः लेटाङ फुटबल क्लब र लेटाङ–४ स्थित लेटाङ एडभान्स अस्पताल प्रालिबीच स्वास्थ्य साझेदारी सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार लेटाङ एड्भान्स अस्पताल क्लबको आधिकारिक हेल्थ पार्टनर रहनेछ ।

सो अस्पतालले क्लबमा आबद्ध खेलाडी, पदाधिकारी, कर्मचारी तथा उनीहरूका नजिकका परिवार सदस्यहरूलाई विभिन्न स्वास्थ्य सेवामा निःशुल्क तथा सहुलियत सुविधा उपलब्ध गराउने भएको छ ।

सम्झौतामा खेलाडी तथा कर्मचारीहरूलाई एमबीबीएस ओपीडी परामर्श, एक्स–रे, सामान्य घाउ ड्रेसिङ तथा दीर्घकालीन ड्रेसिङ सेवा निःशुल्क उपलब्ध गराइने उल्लेख छ । टाँका, प्लास्टर÷स्ल्याब तथा हड्डीसम्बन्धी उपचार प्रक्रियामा ५० प्रतिशत छुट र प्रयोगशाला परीक्षण तथा प्रोस्थेटिक सेवामा २० प्रतिशत छुट प्रदान गरिने जनाइएको छ ।

खेलाडीका बुबा, आमा, श्रीमान्\श्रीमती तथा छोराछोरीलाई प्रयोगशाला परीक्षणमा १५ प्रतिशत र अस्पतालमा भर्ना हुँदा लाग्ने बेड शुल्कमा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ । क्लबले आयोजना गर्ने प्रतियोगिता तथा खेलकुद कार्यक्रममा आवश्यक मेडिकल टिम, प्राथमिक उपचार तथा आकस्मिक स्वास्थ्य सामग्री उपलब्ध गराउने जिम्मेवारी पनि अस्पतालले लिएको छ ।

साझेदारी कार्यक्रमका अवसरमा लेटाङ एडभान्स अस्पतालका सञ्चालक बालकृष्ण शाक्य र लेटाङ फुटबल क्लबका अध्यक्ष भीष्म श्रेष्ठले साझेदारी सम्झौतापत्र साटासाट गर्नुभएको थियो । कार्यक्रममा क्लबका तर्फबाट अस्पताललाई क्लबको जर्सीसमेत प्रदान गरिएको थियो ।

एक वर्षका लागि सो सम्झौता लागू हुने भएको हो ।