केराबारीः केही समयअघिसम्म फोहोर फाल्ने स्थानका रूपमा रहेको मोरङको केराबारी गाउँपालिका वडा नम्बर ८ को रोटेपिङ क्षेत्रमा अहिले आकर्षक चिल्ड्रेन पार्क निर्माण गरिएको छ ।
फोहोरको थुप्रोका कारण नाक थुन्दै हिँड्नुपर्ने सो क्षेत्रमा अहिले साँझ र बिहानको हावा लिन तथा दिउँसो पीपलको छहारीमा शीतलमा रमाउन स्थानीय पुग्ने गर्दछन् ।
दक्षिणतर्फबाट केराबारी बजार प्रवेशद्वारमा सडक छेउमै रहेको चौतारी परिसरमा पेबल्स बिछ्याएर आकर्षक बनाइनुका साथै चिल्ड्रेन पार्क निर्माण गरिएको छ । पार्कमा चाकाचुली, पिङलगायतका खेलसामग्रीको व्यवस्था गरिएको छ । जसले गर्दा पार्कको शोभा बढेको छ र आगन्तुकलाई तान्ने गरेको छ ।


















