इटहरी ।  विश्वकप फुटबलको साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ मा केप भर्डेविरुद्ध सङ्घर्षपूर्ण जीत निकाल्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ ।

आज बिहान मियामी स्टेडियममा भएको खेलमा केप भर्डेलाई ३–२ ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेको हो । दोस्रो पटक बराबरी गोल फर्काएको केप भर्डे आत्मघाती गोलका कारण पराजित हुन पुग्यो ।

खेलको २९ औं मिनेटका कप्तान लियोनल मेसीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । खेलको ५९ औं मिनेटमा डेरोय डुआर्टेले गोल गर्दै केप भर्डेलाई बराबरीमा फर्काएका थिए ।

निर्धारित समयमा १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको दोस्रो मिनेटमै अर्जेन्टिनाका लागि लिसान्ड्रो मार्टिनेजले गोल गरेका थिए ।

त्यसको ११ मिनेटमा नै सिड्नी लोप्स क्याब्रलले उत्कृष्ट गोल गर्दै केड भर्डेलाई पुनः बराबरीमा फर्काएका थिए । खेलको अन्तिम समयमा डाइनी बोर्जेसले आत्मघाती गोल गरेपछि आफ्नै कारणले केप भर्डे पराजित हुन पुग्यो ।


यो खेलमा गोल गर्दै अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले विश्वकपमा सर्वाधिक २० गोल गरेका छन् ।