काठमाडौंः आदिवासी जनजाति आयोगले राष्ट्रिय जनावर गाईको सट्टा गैंडा बनाउने प्रस्ताव गरेको छ । संविधान संशोधनका लागि २५ बुँदे प्रस्ताव अगाडि सार्दै आयोगले राष्ट्रिय गान र राष्ट्रिय जनावरका सम्बन्धमा सुझाव दिएको छ ।

‘प्रदेश अनुसार सरकारी कामकाजको लागि तोकिएको भाषामा राष्ट्रिय गान गाउने व्यवस्था गर्न सकिने’ आयोगको प्रस्ताव छ, ‘राष्ट्रिय जनावर गाईको सट्टा गैँडा हुनेछ ।’ ‘गाई सबै धार्मिक (मुस्लिम) र सांस्कृतिक समुदाय (किरात, राई लगायत) को साझा हुन नसक्ने भएकोले’ राष्ट्रिय जनावर गाईको सट्टा गैँडा बनाउन उपयुक्त हुने आयोगको राय छ ।

जेनजी आन्दोलन २०८२ को मर्म र भावनाअनुसार शासनव्यवस्था सञ्चालनको लागि भनेर प्रधानमन्त्री तथा परिषद्को कार्यालयले आयोगसमक्ष सुझाव मागेको थियो ।

आयोगले नेपालका आदिवासी जनजातिले बोल्ने भाषाको लिपिमा लेखिएका सबै भाषा सरकारी कामकाजको भाषा हुने भनेर पनि संविधानमा लेख्नुपर्ने प्रस्ताव गरेको छ । सबै मातृभाषाहरु नेपाली भाषा हुन् भनी मान्यता दिएपछि लिपिलाई मान्यता नदिँदा विभेद भएको आयोगको भनाइ छ ।

हाल देवनागरिक लिपिमा लेखिएको नेपाली भाषा सरकारी कामकाजको भाषा हुने व्यवस्था छ । संविधानमा प्रत्येक समुदायलाई आफ्नो भाषा संस्कृति संरक्षण गर्ने हक हुने उल्लेख छ । यसमा सुधार गरेर ‘प्रत्येक समुदायको भाषिक तथा साँस्कृतिक संरक्षण राज्यले गर्नेछ र प्रत्येक नागरिकलाई आफ्नो भाषा संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने दायित्व हुनेछ’ भनेर लेख्ने आयोगको प्रस्ताव छ ।