काठमाडौंः देशमा दिनहुँ आत्मदाहका घटना भइरहेका छन् । आज बिहान काठमाडौंको बुद्धनगरमा एक जनाले आत्मदाहको प्रयास गरेका छन् ।

आज बिहान सवा ६ बजे ४५ वर्षीय आश्विन राउतले आफ्नै घरको भान्सा कोठामा आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ ।

राउतलाई प्रहरीले उद्धार गरेर उपचारका लागि वीर अस्पताल पुर्याएको छ । चिकित्सकका अनुसार राउतको शरीर ५० प्रतिशत जलेको छ ।

राउत श्रीमती र छोरासहित बुद्धनगरमा बस्दै आएका थिए । घटनाका बेला उनका श्रीमती र छोरा घरमा नरहेको पाइएको र आत्मदाहको प्रयासको कारण नखुलेको प्रहरीले जनाएको छ ।

बिहीबार मुगुका गणेश नेपालीले काठमाडौंको त्रिपुरेश्वरमा राहदानी विभागअघि आत्मदाहको प्रयास गरेका थिए । .उनको उपचारका क्रममा हिजो बिहान निधन भएको थियो ।

त्यस्तै, सर्लाहीको गोडैता नगरपालिकाका विवेक मण्डलले हिजो आत्मदाहको प्रयास गरेका थिए । उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ ।