धरानः लामो विवादपछि हालै उद्घाटन गरिए पनि पूर्ण रूपमा सञ्चालन हुन नसकेको धरान–८ स्थित नयाँ बसपार्क धरान उपमहानगरपालिकाले साउन १ गतेदेखि कडारुपमा नियम कार्यान्वयन गरी सञ्चालन गर्ने भएको छ ।
उपमहानगरपालिकामा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय, यातायात व्यवसायी र सरोकारवाला समेतको सहभागितामा बिहीबार भएको सुरक्षा समन्वय बैठकले लामो तथा मध्यम दूरीका सार्वजनिक सवारी अनिवार्य रूपमा नयाँ बसपार्कबाट सञ्चालन गर्ने निर्णय गरेको हो ।
बैठकले बसपार्क पूर्ण रूपमा सञ्चालन गर्न सुरक्षा निकाय परिचालन गरी नियम पालना गराउने र नियम उल्लङ्घन गर्नेलाई कानुनबमोजिम कारबाही गर्ने निर्णय गरेको हो ।
सुरक्षा समन्वय बैठकमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक केशवकुमार थेबे, सशस्त्र प्रहरी बलका प्रतिनिधि, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख विमल घिमिरे, जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख तथा अन्य सुरक्षा अधिकारी, यातायात व्यवसायी र उपमहानगरपालिकाका पदाधिकारीको उपस्थिति थियो ।
बैठकमा धरानका कार्यवाहक नगर प्रमुख अइन्द्रविक्रम बेघाले बसपार्क कार्यान्वयन अब कुनै पनि अवस्थामा नरोकिने बताउँदै प्राविधिक समस्या आए तत्काल समाधान गरिने बताउनुभयो ।
बैठकले नयाँ बसपार्क सञ्चालनका लागि विस्तृत कार्ययोजना पनि स्वीकृत गरेको छ । स्वीकृत कार्ययोजनाअनुसार भानु चोक पुरानो बसपार्कबाट लामो तथा मध्यम दूरीका सबै सार्वजनिक सवारी नयाँ बसपार्कमा स्थानान्तरण गरिने भएको छ ।
जसका लागि उत्तरबाट आउने सवारीलाई लक्ष्मी चोक, शिक्षा सदन, भानु चोक र बुढासुब्बा चोक हुँदै यात्रु चढाउने–ओराल्ने व्यवस्था मिलाइने भएको छ । बसपार्क प्रवेश हुने र बाहिरिने मार्गलाई दुईतर्फी सञ्चालनयोग्य बनाइने भएको छ । स्थानीय सार्वजनिक यातायात पूर्ण रूपमा नियमित नहुँदासम्म यात्रुको सुविधाका लागि विशेष शटल बस सञ्चालन गर्ने तयारी गरिएको जनाइएको छ ।
भानु चोक तथा अन्य स्थानमा रहेका सबै टिकट बुकिङ काउन्टर बन्द गरी टिकट बिक्री नयाँ बसपार्कभित्रबाट मात्रै गरिने र प्रत्येक काउन्टरमा भाडा दर अनिवार्य रूपमा टाँस्नुपर्ने बताइएको छ ।
धरान–पानबारी, चतरा लाइन र मङ्गलवारे स्ट्यान्डबाहेक अन्य स्थानबाट यात्रु चढाउन वा ओराल्न नपाइने व्यवस्था लागू हुने भएको छ ।
यातायात संस्था वा कम्पनीमा आबद्ध ई–रिक्सा र ट्याम्पोका लागि बसपार्कको बेसमेन्टमा पार्किङको व्यवस्था गरिने भएको छ । बसपार्क क्षेत्रमा नेपाल प्रहरी र ट्राफिक प्रहरी २४ सै घण्टा परिचालन हुने तथा सुरक्षा सुदृढ बनाउन सिसिटिभी निगरानी प्रणाली र यात्रुको गुनासो तथा सूचनाका लागि हेल्प डेस्क सञ्चालन गरिने जनाइएको छ ।


















