इटहरी । विश्वकप फुटबलको पूर्व विजेता इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को सेमीफाइनलमा प्रवेश गरेको छ ।

आज बिहान अमेरिकाको मियामी स्टेडियममा भएको खेलमा नर्वेलाई २–१ ले पराजित गर्दै इंग्ल्यान्ड आठ वर्षपछि सेमीफाइनलमा पुगेको हो । खेलमा जेड बेलिंघमले दुई गोल गर्दै इंग्ल्यान्डको जीत सुनिश्चित गरेका थिए ।

पहिलोपटक क्वार्टरफाइनलमा पुगेको नर्वे शुरुवाती अग्रता जोगाउन नसक्दा प्रतियोगिताबाट बाहिरिएको हो ।

खेलको ३६ औं मिनेटमा एन्ड्रियास स्केल्डरअपले गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए । त्यसको ११ मिनेटपछि मध्यान्तरअघिको अतिरिक्त समयमा इंग्ल्यान्डका जेड बेलिंघमले बराबरी गोल फर्काएका थिए ।

मध्यान्तरपछि दुवै तर्फबाट गोल भएन । मध्यान्तरपछिको अतिरिक्त समयको तेस्रो मिनेटमा बेलिंघमले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्यान्डको जीतलाई सुनिश्चित गरेका हुन् ।

सन् १९६६ मा विश्वकप जितेयता इंग्ल्यान्ड तेस्रो पटक सेमीफाइनलमा पुगेको हो । यसअघि सन् १९९० मा पश्चिम जर्मनी र २०१८ मा क्रोएसियासँग सेमीफाइनलमा इंग्ल्याण्ड पराजित भएको थियो ।