इटहरीः हिजो राति ११ः४० बजे सुनसरीको इटहरीमा नेपाल विद्युत प्राधिकरण कार्यालयको भ्यान अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

इटहरी उपमहानगरपालिका–२० सेउती खोला दक्षिण विद्युत कार्यालय धरानको बा १ ञ १६५१ नम्बरको भ्यान अनियन्त्रित भई दुर्घटना हुँदा उनीहरुको ज्यान गएको हो ।

सो दुर्घटनामा भ्यान चालक धरान उपमहानगरपालिका–१३ बस्ने ३२ वर्षीय बिर्खबहादुर राई र धरान उपमहानगरपालिका–१६ बस्ने ४९ वर्षीय सुमन आचार्यको मृत्यु भएको हो । दुवै जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा ज्यान गएको हो । चालक राई करार सेवाका कर्मचारी र आचार्य हेल्पर पदका स्थायी कर्मचारी भएको बताइएको छ ।

प्रहरीका अनुसार सो दुर्घटनामा घाइते भएका धरान उपमहानगरपालिकाका–२० बस्ने ३२ वर्षीय पवन राईको सोही अस्पतालमा उपचार भइरहेको छ । उनी ज्यालादारी कर्मचारीको रुपमा कार्यरत रहेको बताइएको छ ।

दुर्घटनामा परेको सवारी पूर्ण रुपमा क्षति भएको र घटनाको अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।