इटहरी । २१३ औँ भानुजयन्तीको अवसरमा सुन्दरहरैंचा–७ गोठगाउँमा रहेको सुन्दरवाटिका एकेडेमीमा आयोजित कार्यक्रममा रचना वाचन, नाटक मञ्चन तथा आदिकवि भानुभक्तको जीवनी, व्यक्तित्व र कृतित्वमाथि चर्चा भएको छ ।
सोमबार विद्यालयमा आयोजित कार्यक्रममा शिक्षक मञ्जु भट्टराईले आदिकवि भानुभक्त आचार्यको जीवनी, व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्नुभएको थियो ।
अभिभावक तीर्थराज भण्डारीले आदिकविको जीवनी, व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्नुका साथै भानुक्त आचार्यप्रति समर्पित रचना वाचन गर्नुभएको थियो ।
अभिभावक रुक्मिणी खतिवडाले छन्दोबद्ध रचना वाचन गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुले भानुभक्तले रचना गरेका विभिन्न कृतिका श्लोक वाचन गरेका थिए ।
विद्यार्थीले भानुभक्तको जीवनीमा आधारित नाटक मञ्चन गरेका थिए । सो नाटक हलमा नभई जङ्गलमा मञ्चन गरिएको थियो । घाँसीसँग भानुभक्तको भेटघाटसँग सम्बन्धित नाटकमा विद्यार्थीले उत्कृष्ट अभिनय गरेको विद्यालयले जनाएको छ ।
विद्यालयका प्रिन्सिपल विनोद फुयालले विद्यालयले पहिलो पटक भानुजयन्ती मनाएको बताउँदै प्रत्येक वर्ष भानुजयन्ती उल्लासमय वातावरणमा बनाइने बताउनुभयो ।


















