काठमाडौंः सरकारी विज्ञापन प्रकाशन तथा प्रसारणमा सरकारले लागू गरेको ‘एकद्वार प्रणाली’लाई सर्वोच्च अदालतले बदर गरिदिएको छ ।

हिजो न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले सरकारको उक्त निर्णय खारेज गर्ने आदेश दिएको हो ।

सरकारी विज्ञापनहरू सरकारी सञ्चारमाध्यम (गोरखापत्र, रेडियो नेपाल, नेपाल टेलिभिजन आदि) मार्फत् मात्रै प्रकाशन गर्ने नीति वर्तमान सरकारले अघि सारेको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट जारी गरिएको उक्त परिपत्रले निजी क्षेत्रका सञ्चारमाध्यमहरूलाई मर्कामा पारेको र विभेद गरेको भन्दै नेपाल मिडिया सोसाइटीले सर्वोच्चमा रिट दायर गरेको थियो । सोही रिटमा मिडिया सोसाइटीको माग बमोजिम अदालतले सरकारी निर्णय बदर हुने फैसला सुनाएको हो ।

फैसलासँगै अब सरकारी विज्ञापनहरू निजी सञ्चारमाध्यमले पनि पाउने बाटो खुलेको छ । अदालतको फैसलाको पूर्ण पाठ भने आउन बाँकी छ ।

विज्ञापन कटौतीपछि सञ्चार गृह र विज्ञापन एजेन्सी रुष्ट बनेका थिए ।