इटहरी ।  मध्यान्तरपछिको अतिरिक्त समयमा निर्णायक गोल गरेपछि इंग्ल्यान्डमाथि २–१ को पुनरागमन जीत निकाल्दै साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ ।

आज बिहान एटलान्टा स्टेडियममा भएको खेलमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै अन्तिम समयमा दुई गोल गर्दै अर्जेन्टिना लगातार दोस्रोपटक फाइनलमा पुगेको हो ।

अर्जेन्टिनाका लागि एन्जो फर्नान्डेज र लाउटारो मार्टिनेजले गोल गरे । इंग्ल्यान्डका लागि एन्थोनी गोर्डनले गोल गरेका थिए ।

यो सँगै ३ पटकको विश्वकप विजेता अर्जेन्टिना सातौंपटक विश्वकपको फाइनलमा प्रवेश गरेको हो ।

३६ वर्षको उपाधि खडेरी तोड्दै सन् २०२२ मा विश्वकप जितेको अर्जेन्टिना लगातार दोस्रोपटक उपाधि जित्ने बाटोमा अगाडि बढेको छ । अर्जेन्टिनाले उपाधिका लागि अब स्पेनसँग खेल्नेछ ।
खेलको ५५ औं मिनेटमा इंग्ल्यान्डका एन्थोनी गोर्डनले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । गोर्डनले मोर्गन रोजर्सको क्रसमा गोल गरेका थिए ।

खेलको ८५ औं मिनेटमा कप्तान लियोनल मेसीको पासमा एन्जो फर्नान्डेलले पेनाल्टी बक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै अर्जेन्टिनालाई खेलमा फर्काएका थिए । मध्यान्तरपछि थपिएको ९ मिनेटको अतिरिक्त समयको दोस्रो मिनेटमा सब मार्टिनेजले मेसीकै पासमा गोल गर्दै अर्जेन्टिनालाई २–१ को अग्रता दिलाए ।

यसअघि प्रिक्वाटरफाइनलमा दुई गोलले पछि पर्दा अन्तिम समयमा कमब्याक गर्दै ३ गोल गरेर खेल जितेको अर्जेन्टिनाले सेमीफाइनलमा पनि त्यही खेल देखायो ।

अर्जेन्टिनाले यसअघि सन् १९७८, १९८६ र २०२२ मा उपाधि जितेको थियो भने १९३०, १९९० र २०१४ मा फाइनलमा पराजित भएको थियो ।

सन् १९६६ मा उपाधि जितेको इंग्ल्यान्ड सेमीफाइनलमा तेस्रोपटक पराजित भएको छ । यसअघि १९९० र २०१८ मा पनि सेमीफाइनल पुगेर पराजित भएको थियो ।