उर्लाबारीः नेपाल पत्रकार महासंघ मोरङको आयोजनामा ‘स्थानीय सञ्चारमाध्यमको सुदृढीकरण, दिगोपना तथा प्रभावकारी सञ्चालनका लागि सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम बिहीबार मोरङको उर्लाबारीमा सम्पन्न भएको छ ।

सञ्चार क्लब नेपाल उर्लाबारीको समन्वय तथा कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहकार्यमा आयोजित कार्यक्रममा आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री उमाकान्त गौतम प्रमुख अतिथि हुनुहुन्थ्यो । कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री गौतमले कोशी प्रदेश सरकारले सञ्चारसम्बन्धी विधेयक ल्याएर पत्रकार तथा सञ्चार क्षेत्रको हितमा काम गरिरहेको बताउनुभयो ।

अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै विशिष्ट अतिथि उर्लाबारी नगरपालिकाका प्रमुख गंगाप्रसाद खरेलले स्थानीय सञ्चार संस्था र पत्रकारहरूलाई नगरपालिकाले विगतदेखि नै सहयोग गर्दै आएको र आगामी दिनमा पनि निरन्तर सहयोग रहने बताउनुभयो ।

उर्लाबारी नगरपालिकाकी उपप्रमुख मीनाकुमारी पौडेलले सञ्चार क्षेत्रका लागि नगरपालिकाले विनियोजन गरेको बजेट र सञ्चार प्रवद्र्धनका कार्यक्रमबारे जानकारी गराउनुभएको थियो ।

मिक्लाजुङ गाउँपालिकाका उपाध्यक्ष दिनेश पौडेलले स्थानीय सञ्चार माध्यमलाई गाउँपालिकाले निरन्तर सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग जारी रहने बताउँदै सञ्चारकर्मीमा खोज पत्रकारिताको कमी रहेको बताउनुभयो ।

नेपाल शिक्षक महासङ्घ मोरङका अध्यक्ष कुमार पोखरेलले पत्रकारिताको विश्वसनीयता तथ्यमा आधारित सूचनाबाट कायम रहने बताउनुभयो ।

इलाका प्रहरी कार्यालय उर्लाबारीकी प्रहरी निरीक्षक नवीन ओलीले सञ्चार संस्था र पत्रकारहरूसँग सहकार्य गर्दै मानव अधिकार तथा सूचना प्रवाहका क्षेत्रमा सहयोगी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका सल्लाहकार बन्धु पोखरेलले स्थानीय सरकार र सञ्चारमाध्यमबीच समन्वयको आवश्यकता औँल्याउनुभएको थियो । महासंघका प्रदेश उपाध्यक्ष कुमोद अधिकारीले कोशी प्रदेशको पत्रकारिता क्षेत्रका चुनौती र सम्भावनाबारे धारणा राख्नुभएको थियो ।

स्थानीय मिडिया प्रवद्र्धनसम्बन्धी कार्यपत्र महासंघको मोरङ शाखाका पूर्व कार्यवाहक अध्यक्ष मोहन भट्टराईले प्रस्तुत गर्नुभएको थियो ।

नेपाल पत्रकार महासंघ मोरङकी अध्यक्ष सुशीला पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव नेत्रप्रसाद अधिकारीले गर्नुभएको थियो । सञ्चार क्लब उर्लाबारीका अध्यक्ष घनश्याम भण्डारीले स्वागत मन्तव्य राख्नुभएको थियो ।