विराटचोकः आजदेखि तीन दिनसम्म स्थानीय स्काउट कमिटीको आयोजना तथा हिमालय इङ्लिस स्कुलको सह–आयोजनामा ‘हिमालय मनसुन स्काउट क्याम्प–२०८३’ सञ्चालन हुने भएको छ ।

सो क्याम्पबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा जनाइएअनुसार तीन दिनसम्म चल्ने क्याम्पमा स्काउटका आधारभूत सिद्धान्त, नेतृत्व विकास, अनुशासन, टोलीगत कार्य, प्राथमिक उपचार, विपद् व्यवस्थापन, वातावरण संरक्षण, सामुदायिक सेवा तथा व्यवहारिक शिक्षासम्बन्धी विविध गतिविधि सञ्चालन गरिने भएको छ ।

सो क्याम्पले विद्यार्थीमा आत्मविश्वास, जिम्मेवारीबोध, सहकार्यको भावना र नेतृत्व क्षमता विकास गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको सुन्दरहरैंचाका स्थानीय स्काउट प्रमुख आयुक्त मनोज लामा कार्कीले बताउनुभयो ।

स्काउटले अनुशासन, इमान्दारिता, सेवा भावना र सामाजिक उत्तरदायित्वको विकास गराउँदै असल नागरिक निर्माणमा योगदान पुर्याउने तथा मनसुन क्याम्पले विद्यार्थीलाई विपद्का समयमा आवश्यक पर्ने आधारभूत सीप सिकाउनुका साथै सामूहिक रूपमा काम गर्ने संस्कृतिको विकास गर्ने बताउनुभयो ।

हिमालय स्काउट ट्रुपका प्रमुख सुजन थापाले क्याम्पलाई सिकाइ र व्यावहारिक अभ्यासलाई जोड्ने गरी तयार गरिएको बताउनुभयो । सो क्याम्पमा टोलीगत खेल, स्काउट ड्रिल, गाँठो बाँध्ने सीप, प्राथमिक उपचार, क्याम्प क्राफ्ट, वातावरण संरक्षण, नेतृत्व विकास, सामुदायिक सेवा तथा विभिन्न सिर्जनात्मक गतिविधि समावेश गरिनेछ । विभिन्न प्रतियोगिता सञ्चालन गरी पुरस्कृत गरिने पनि आयोजकले जनाएको छ ।

हिमालय इङ्लिस स्कुलका संस्थापक प्रिन्सिपल कमल खनालले विद्यालयले शैक्षिक गुणस्तरसँगै विद्यार्थीको सर्वाङ्गीण विकासलाई प्राथमिकतामा राख्दै आएको बताउनुभयो ।

सो क्याम्पमा ५० भन्दा बढी विद्यार्थीको सहभागिता रहने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

क्याम्पको उद्घाटन आज सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईँले गर्ने आयोजकले जनाएको छ ।