धरानः साउन १ गतेदेखि धरानको स्मार्ट बसपार्क पूर्ण रूपमा सञ्चालनमा आएको छ । धरान–८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजनामा निर्माण गरिएको स्मार्ट बसपार्क असार १३ गते नै उद्घाटन भए पनि साउन १ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको हो ।
संघीय सरकार र धरान उपमहानगरपालिकाको साझेदारीमा करीब १ बिघा सात कट्ठा क्षेत्रफलमा बसपार्क निर्माण भएको हो ।
३३ करोड ७० लाख ४७ हजार ३३७ रुपैयाँ लागत अनुमान गरिएको बसपार्क निर्माणको जिम्मा बिकोइ गीताञ्जली जेभी, दुहबी सुनसरीले पाएको थियो । निर्माण कम्पनीले २५ करोड ४१ लाख ६७ हजार ३१९ रुपैयाँमा २०७८ असार ३० गते ठेक्का सम्झौता गरी निर्माण कार्य शुरु गरेको थियो । बसपार्क २४ करोड ८६ लाख ९ हजार १४८ रुपैयाँमा निर्माण सम्पन्न भएको जनाइएको छ ।
सो बसपार्कमा एकैपटक ३८ वटा ठूला बस र १८ वटा जीप पार्किङ गर्न सकिने व्यवस्था छ । भवनको बेसमेन्टमा ७२ वटा दुईपांग्रे सवारीसाधन, ६० वटा अटो तथा केही कार र जीप पार्किङ गर्न सकिने क्षमता रहेको छ । बसपार्कमा करिब ३०० यात्रु अट्ने सुविधा सम्पन्न प्रतीक्षालय, टिकट काउन्टर, एटिएम बुथ, सिसिटीभी तथा सुरक्षा कक्ष, सार्वजनिक शौचालय, प्राथमिक उपचार कक्ष, मिनीमार्ट तथा २२ वटा अटो अट्ने स्टेसन निर्माण गरिएको छ । अन्डरग्राउन्ड पार्किङसहित बसपार्क भवनको पहिलो तलामा १८ वटा व्यावसायिक सटरसमेत निर्माण गरिएको छ ।
बसपार्क सञ्चालनको जिम्मा इटहरीका सुमन राईको कम्पनी ब्रदर्स ट्रेडर्सलाई भ्याटसहित वार्षिक १ करोड २ लाख रुपैयाँमा ठेक्कामार्फत् दिइएको छ ।
बसपार्क सरेपछि धरानस्थित बीपी प्रतिष्ठानमा उपचारमा जाने बिरामीले केही असहज महसुस गरेका छन् । टेम्पो र सफारीको भाडा धेरै भएको हुनाले धरान उपमहानगरपालिकाले नगर बस सञ्चालन गर्नुपर्नेमा जोड दिँदै आएका छन् ।
धरानको भानुचोक बसपार्क साँघुरो र ट्राफिक समस्याका कारण पनि पहिलादेखि सर्नुपर्ने आवाज उठिरहेको थियो ।
बसपार्क सरेपछि भानुचोकमा सांस्कृतिक कार्यक्रमसहितको स्टेज तयार गरेर अहिलेकै अवस्थामा फर्काउने तयारीमा धरान उपमहानगरपालिका रहेको कार्यवाहक मेयर अइन्द्रविक्रम बेघाले जानकारी दिनुभएको छ ।


















