इटहरी । नेपालमा आगामी तीन दिन देशका अधिकांश भूभागमा निरन्तर वर्षा हुने सम्भावना रहेको छ । विगत केही दिन कमजोर बनेको मनसुन फेरि सक्रिय भएसँगै विभिन्न क्षेत्रमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले अनुमान गरेको छ ।
विभागका अनुसार पछिल्लो समय देशभर मनसुनी वायुको प्रभाव बढेको छ । मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि तथा तराई र पूर्वी भूभागमा सरदर स्थानको आसपास रहेकाले मध्य र पश्चिम नेपालमा मनसुन थप सक्रिय हुने अनुमान गरिएको छ ।
शुक्रबार र शनिबार दिउँसोको तुलनामा शनिबार रातिदेखि मनसुनी वर्षा थप सक्रिय हुने सम्भावना रहेको बताइएको छ । शनिबार रातिदेखि पूर्वी तराई, मध्यपहाड, पश्चिम नेपाल तथा हिमाली भेगका अधिकांश स्थानमा वर्षा हुने सम्भावना छ ।
त्यस्तै, केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन र पूर्वसूचना पालना गर्न विभागले आग्रह गरेको छ ।


















