इटहरी । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गत २४ घण्टामा झापाको अनारमनीमा सबैभन्दा धेरै १०८.६ मिलिमिटर वर्षा भएको छ । त्यसपछि सबैभन्दा धेरै मकवानपुरको मकवानपुरगढीमा ८९.८ मिलिमिटर वर्षा भएको छ । पछिल्लो १ घण्टामा झापाको बाहुनडाँगीमा सबैभन्दा धेरै १७.६ मिलिमिटर वर्षा भएको छ ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ । महाशाखाका अनुसार आज देशका अधिकांश स्थानमा बादल लागेको महाशाखाले जनाएको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन–चट्याङसहित मध्यमसम्मको वर्षा–हिमपातको सम्भावना र पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन–चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।
आज राति देशभर साधारणतया बादल लाग्ने तथा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित मध्यमसम्मको वर्षा–हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा, मधेश प्रदेश तथा कर्णाली पहाडी भूभागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।


















