इटहरीः तरहरा साइक्लिङ क्लबले पाँचौँ संस्करणको ‘तरहरा कोरा २०२६’  शनिबार आयोजना गर्ने भएको छ । स्वास्थ्य प्रवर्द्धन, वातावरण संरक्षण, पर्यटन विकास तथा सामाजिक उत्तरदायित्वलाई एकैसाथ जोड्ने उद्देश्यसहित आयोजना हुने सो च्यारिटी साइकल यात्रामा कोशी प्रदेशका विभिन्न जिल्लाबाट ६ सयभन्दा बढी साइकलयात्री सहभागी हुने आयोजकको अनुमान छ ।

‘तरहरा कोरा’ केवल साइकल यात्रा मात्र नभई स्वस्थ जीवनशैलीको प्रवद्र्धन, वातावरण संरक्षण, स्थानीय धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको प्रचारप्रसार तथा सामाजिक सेवासँग जोडिएको अभियान भएको कार्यक्रम संयोजक मदन बस्नेत बताउनुहुन्छ ।

कार्यक्रमबाट सङ्कलित च्यारिटी रकम यस वर्ष स्वास्थ्य र शिक्षाको क्षेत्रमा खर्च गरिने बस्नेतले बताउनुभयो । यस वर्ष हालसम्म ५३५ जनाले नाम दर्ता गरिसकेका हुनाले कार्यक्रममा सहभागी सङ्ख्या ६ सयभन्दा बढी पुग्ने आयोजकको विश्वास छ ।

पहिलो संस्करणमा करिब ३ सय सहभागी रहेको यो अभियानले हरेक वर्ष सहभागिता बढाउँदै लगेको छ ।

शनिबार बिहान साढे ५ बजे सहभागीहरूको उपस्थितिपछि बिहान साढे ६ बजे औपचारिक उद्घाटन हुने र पौने ७ बजे तरहरा चोकबाट च्यारिटी राइड शुरु हुने जनाइएको छ । सहभागीहरूले २६.१ किलोमिटर दूरी पार गर्दै श्री जनसहयोग माध्यमिक विद्यालय पुगेपछि मेडल वितरण गर्नुका साथै समापन कार्यक्रम आयोजना गरिने जनाइएको छ ।

नाम दर्ता गर्ने सबै सहभागीलाई ‘तरहरा कोरा’ टी–सर्ट, फिनिसर मेडल तथा अनलाइन ई–सर्टिफिकेट प्रदान गरिने भएको छ । कार्यक्रममा नेपालका जुनसुकै उमेर समूहका नागरिक सहभागी हुन सक्ने आयोजकले जनाएको छ ।
यस वर्षको कार्यक्रमलाई थप आकर्षक बनाउन धरानका चर्चित साइकलयात्री टिबी अनिषको विशेष सहयोगमा एक थान साइकल प्रदान गरिने भएको छ । कार्यक्रममा सहभागीमध्ये भाग्यशाली एक जनाले सो साइकल प्राप्त गर्ने बताइएको छ ।

तरहरा तथा आसपासका धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थलहरूको साइकलमार्फत् परिक्रमा गर्दै स्वास्थ्य, पर्यटन तथा वातावरण संरक्षणको सन्देश फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गर्ने गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रमको आधिकारिक मेडिकल सपोर्ट पार्टनरका रूपमा विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल रहने भएको छ ।