फिदिमः पाँचथरको फिदिम नगरपालिका–५ स्थित मताने बेंसीमा परम्परागत शैलीमा बेठीसहित हिजो सामूहिक धान रोपाइँ गरिएको छ ।
फिदिम–४ का किसान लक्ष्मीप्रसाद चापागाईंको खेतमा भएको रोपाइँमा कुम्मायक गाउँपालिका–४ हात्तीपोखरीबाट आएको नौमती बाजा टोलीका नौ जनाले बाजा बजाएका थिए । रोपाइँमा ४ हल गोरु, ४० जना रोपाहार, ३० जना बाउसे सहभागी थिए ।
लोप हुँदै गएको बेठी संस्कृतिलाई नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले यस वर्ष विशेष रूपमा नौमती बाजा टोली झिकाएर सामूहिक रोपाइँ आयोजना गरिएको चापागाईँले बताउनुभयो ।


















