इटहरी । स्पेनको उत्तरी बुर्गोस प्रान्तस्थित सानो गाउँ अवेलेनोसा डे मुन्यो वर्षभरि प्रायः सुनसान रहन्छ । यहाँ अहिले मुस्किलले १० जना मात्रै स्थायी रूपमा बसोबास गर्छन् । गाउँमा न त नियमित खुल्ने भोजनालय छ, न त पर्यटकको चहलपहल । एउटा मदिरालय छ, जुन कहिल्यै खुल्दैन । एउटा मदिरा भण्डारण केन्द्र छ, जुन सञ्चालनमा छैन ।

गाउँको शान्त वातावरणमा लेभेन्डरका बोट वरिपरि गुन्जिने मौरीको आवाज, ढुंगाका छानामाथि उड्ने चराहरूको चिरबिराहट र कहिलेकाहीँ गुड्ने ट्याक्टरको आवाज नै जीवनको संकेत बन्छ । हप्तामा एकपटक आउने बेकरीको गाडीले केही स्थानीय बासिन्दालाई रोटी पुर्याउँदा मात्रै गाउँको निस्तब्धता केहीबेरका लागि भङ्ग हुन्छ । तर यही गाउँ सन् २०२६ को गर्मीयाममा विश्वभरका खगोलप्रेमीको आकर्षणको केन्द्र बन्ने तयारीमा छ ।

पूर्ण सूर्यग्रहण हेर्न विश्वभरबाट आगमन
१२ अगस्ट २०२६ मा एटलान्टिक महासागरमाथिबाट पूर्ण सूर्यग्रहण देखिनेछ । सन् १९९९ यता मुख्य युरोपबाट पूर्ण सूर्यग्रहण देखिने यो पहिलो अवसर हुनेछ । म्याड्रिडकी भौतिकविद् डा. मारिया तेरेसा लोपेज सान्चेजका अनुसार सन् १९१२ पछि मुख्य स्पेनबाट पूर्ण सूर्यग्रहण देखिने यो पहिलो घटना हो ।

पूर्ण सूर्यग्रहणको दृश्य सीमित भूभागबाट मात्रै देखिने र अवेलेनोसा डे मुन्यो त्यसै मार्गमा पर्ने गाउँ हो । सो गाउँ वरिपरिका सुनौलो गहुँबारी, पश्चिमतर्फ फैलिएका साना डाँडाहरू, अत्यन्त कम कृत्रिम प्रकाश र भीडभाडको अभावले यसलाई ग्रहण अवलोकनका लागि उपयुक्त स्थान बनाएको छ ।

ग्रहणको अर्को विशेषता यसको समय हो । सूर्य अस्ताउनुअघि ग्रहण लाग्ने भएकाले केही मिनेटभित्र दुईपटक साँझ परेझैँ देखिने दुर्लभ दृश्य देख्न सकिनेछ । यसलाई वैज्ञानिकहरूले ‘दोहोरो साँझ’ जस्तै अनुभवका रूपमा वर्णन गरेका छन् ।

त्यही रात पछि ‘पर्सिड्स’ उल्कावृष्टि पनि देखिने भएकाले दुई महत्वपूर्ण खगोलीय घटनाको दुर्लभ संगम सो दिन हुने बताइएको छ ।

सो गाउँमा सन् १९५० को दशकमा करिब २०० जना बस्थे । त्यतिबेला साना पसलहरू थिए र माछा बेच्ने व्यापारीहरू साइकल चढेर वरपरका गाउँ पुग्थे ।

पुस्तौँसम्म गाउँका मानिस सुख्खा जमिनमा गरिने खेती, तरकारी, अंगुरखेती र पशुपालनमा निर्भर थिए । पछि कृषिमा यान्त्रिकीकरण बढ्दै गयो र आसपास रोजगारीका अवसर कम भएपछि अधिकांश मानिस म्याड्रिड, बिलबाओ, बार्सिलोना लगायतका सहरतर्फ बसाइँ सरे ।

पूर्ण सूर्यग्रहणको अवसरमा भने पुराना बासिन्दा आफ्ना परिवारसहित गाउँ फर्किने तयारीमा छन् ।

ग्रहणको अवलोकनका लागि नजिकै रहेको ऐतिहासिक ड्युक अफ लेर्माको महलमा सञ्चालित ‘पाराडोर दे लेर्मा’ होटलमा सन् २०२२ मै सबै कोठा आरक्षण भइसकेका थिए । अधिकांश आवास पूर्ण रूपमा भरिएका छन् । ग्रहण अवलोकन गर्ने जानकारहरू चर्चित स्थानभन्दा उत्कृष्ट दृश्य देखिने स्थान खोजिरहेका थिए ।

बुर्गोस क्षेत्रभर ग्रहण अवलोकनका लागि विशेष स्थल र कार्यक्रमको तयारी भइरहेको छ । तर अवेलेनोसा डे मुन्योमा स्थानीय र आगन्तुकहरू गाउँमाथिको गुफातर्फ जानेछन् । पूर्ण सूर्यग्रहणका बेला सूर्य क्षितिजभन्दा करिब आठ डिग्री मात्र माथि हुने भएकाले पश्चिमतर्फ खुला दृश्य अत्यन्त आवश्यक हुन्छ । यही कारण ती गुफाहरू अवलोकनका लागि सबैभन्दा उपयुक्त स्थान मानिएका छन् ।

यी गुफाहरू केवल दृश्यावलोकनका लागि मात्र होइन, गाउँका बासिन्दाका लागि भावनात्मक रूपमा पनि विशेष महत्व राख्छन् । पुस्तौँदेखि उनीहरू यहीँ भेला भएर सूर्यास्त हेर्ने परम्परा रहँदै आएको छ ।

एउटा दुर्लभ संयोगका कारण वर्षभरि ओझेलमा पर्ने स्पेनको यो सानो गाउँ सो दिन विश्वकै केन्द्रबिन्दु बन्ने भएको छ ।